रहमुल

जनकपुरधाममा पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिकाको मेयर पदबाट आजै राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह एउटै होटलमा बसेका छन् ।

दुवै जना जनकपुरधामस्थित यात्री निवास होटलमा बसोबास गरिरहेका हुन्, जसका कारण राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको छ ।

होटल स्रोतका अनुसार पूर्वयुवराज पारस शाह शुक्रबार राति करिब ९ बजे होटल यात्री निवासमा प्रवेश गरेका थिए भने बालेन शाह त्यसै दिन दिउँसो करिब पौने ५ बजे होटल पुगेका थिए। पारस शाहले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको बताएका छन् र होटलका कर्मचारीसँगको कुराकानीमा उनले केही दिन त्यहीँ बस्ने जानकारी दिएका छन् ।

उता, बालेन शाह भने आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि जनकपुर आएका हुन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी रास्वपाको चुनावी अभियानमा सक्रिय देखिएका छन्। जनकपुरलाई मधेस केन्द्रित राजनीतिक अभियानको सुरुवाती थलो बनाउँदै बालेन शाहले यहाँबाट आफ्नो चुनावी गतिविधि अघि बढाउने तयारी गरेका छन् ।

उल्लेखनीय कुरा के छ भने यात्री निवास होटल वृहत्तर जनकपुर विकास समितिको स्वामित्वमा रहेको छ भने यसको व्यवस्थापन सोल्टी बिजनेस ग्रुपले गर्दै आएको छ। एउटै होटलमा पूर्वराजपरिवारका सदस्य र नयाँ पुस्ताको राजनीतिमा उदाएका नेता बसेपछि यसलाई संयोग मात्र मान्ने कि भविष्यका राजनीतिक घटनाक्रमसँग जोडेर हेर्ने भन्नेबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

यद्यपि दुवै पक्षबाट एक–अर्काबीच कुनै औपचारिक भेटघाट वा राजनीतिक संवाद भएको भन्ने पुष्टि भइसकेको छैन । तर जनकपुरधाममा भएको यो संयोगले स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिक वृत्तसम्म चर्चा भने पक्कै चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय