काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चलिरहेको विशेष महाधिवेशन विवादकाेबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलगायत नेताहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्ने सबै नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि आग्रह गरेको छ ।

महामन्त्रीद्वय थापा र शर्मा सहितका नेताहरूले पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै विशेष महाधिवेशन आह्वान गरेका थिए। पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि शीर्ष नेतृत्व टार्न खोजेको आरोप उनीहरूले लगाउँदै आएका छन्।






