राेयाण्टर मण्डल
लहान। धनगढीमाई नगरपालिका–११ स्थित जिरोमाइल चौकमा गए राति करिब ९:३० बजे प्रहरीले खैरो हिरोइन जस्तो देखिने प्रतिबन्धित पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्युरो सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बरियारपट्टीबाट जिरोमाइलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शंका लागि रोकेर जाँच गर्दा मोटरसाइकलको ट्याङ्की कभरभित्र लुकाइ राखिएको लागुऔषध फेला परेको हो ।
प्रहरीका अनुसार प्लास्टिक सहित तौल गर्दा ४०.५५ ग्राम र प्लास्टिक हटाउँदै गर्दा ३८ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
सो मोटरसाइकलका चालक गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिशेक साह र पछाडि सवार सिन्धुलीको दुधौली नगरपालिका–९ टारी बस्ने ३२ वर्षीय एलेक्स आलेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहान पठाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिनुभयो ।






