सिरहा / आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी (जसपा) बीच भएको राजनीतिक सहकार्यका आधारमा सिरहा क्षेत्र नं. २ का लागि संयुक्त उम्मेदवारका रूपमा राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय उपाध्यक्ष कौशल कुमार सिंह सिफारिस गरिएको छ ।
तीन दलबीचको सहमति पछिल्लो समय मधेशभित्र विकसित भइरहेको राजनीतिक एकता र जनमतको अपेक्षालाई सम्बोधन गर्ने प्रयासका रुपमा हेरिएको छ ।
नेता कौशल कुमार सिंह पछिल्ला दुई दशकदेखि विशेषगरी पिछडावर्ग (OBC) समुदायका सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारका लागि निरन्तर संघर्षरत व्यक्तित्व हुन् ।
उनी भूमिसम्बन्धी समानता, शिक्षा तथा रोजगारीमा समावेशी अवसर र मधेश–तराई क्षेत्रमा संरचनागत असमानता अन्त्यका मुद्दामा सक्रिय अभियन्ताका रूपमा चिनिन्छन् ।
सिंहको पृष्ठभूमि केवल राजनीतिक आन्दोलनमा सीमित छैन । उनले सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका छन् र डिजिटल युगमा मधेशका युवाहरूलाई प्रविधिमा केन्द्रित बनाउनुपर्ने आवश्यकताबारे खुलेर बोल्ने नेताका रूपमा पहिचान बनाएका छन् ।
प्रविधि तथा आधुनिक व्यवस्थापनमा उनको ज्ञानले पार्टीभित्र योजनागत निर्णयमा सकारात्मक प्रभाव पारेको नेताहरू बताउँछन् ।
यसअघि सिंहले लोक दलका संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यही ठाउँबाट उनले संगठन निर्माण, नेतृत्व क्षमता र नीति अभिव्यक्तिको अनुभव सँगालेका थिए । पछिल्लो समय उनी राष्ट्रिय मुक्ति पार्टीमार्फत संघीयता, समान अधिकार, पहिचान, समावेशी लोकतन्त्र र राज्य पुनर्संरचनासम्बन्धी विमर्शलाई बलियो बनाउँदै आएका छन् ।
सिरहा–२ मधेशको राजनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । विविध जातीय, भाषिक र सामाजिक तहका जनताले प्रतिनिधित्व माग्ने यो क्षेत्रमा सिंहको उम्मेदवारीले नयाँ राजनीतिक ध्रुवीकरण र वैकल्पिक नेतृत्वको बहसलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।






