रोयाण्टर मण्डल
लहान (सिराहा) — सप्रोस नेपाल र दिदीबहिनीको संयुक्त आयोजनामा “जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति २०८२” सम्बन्धी कार्यशाला आइतबार लक्ष्मीपुर पतारी गाउँपालिका सभाहलमा सम्पन्न भएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिका सभाहल आज भएको कार्यक्रममा महिला, दलित, भूमिहीन, सीमान्तकृत समुदाय तथा युवा किसानहरूले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या, चुनौती र समाधानका उपायमा केन्द्रित छलफल भएको थियो । यसमा गाउँपालिकाका सम्पूर्ण वडाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्ति, महिला समूहका प्रतिनिधि तथा किसान समूहहरू सक्रिय रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा पालिकाका विपत तथा रोजगार अधिकृत प्रकाश चौधरीले जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव, जोखिम क्षेत्रहरू तथा कृषि–पशुपालन क्षेत्रमा देखिएका समस्याबारे कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यशालाको सहजीकरण डा. राजु छेत्री, रत्ना श्रेष्ठ र लोकशास्त्र श्रेष्ठले गरेका थिए ।

सहभागीहरूका अनुसार जलवायु परिवर्तनले किसानको घरधुरी, जीविकोपार्जन, उत्पादन क्षमता तथा पानीको स्रोतमा गम्भीर असर पारेको छ। उनीहरूले आगामी दिनमा प्रभावकारी जलवायु–स्मार्ट प्रविधि, लैङ्गिक उत्तरदायी योजना, बीउ–विजनको व्यवस्था, विद्युतीकरण, र उत्पादनलाई बजारसम्म जोड्ने प्रणाली आवश्यक रहेको बताएका थिए ।

महिला किसान वासिमा खातुनले महिलाहरू राति कुलो व्यवस्थापन गर्न जाँदा सुरक्षा सम्बन्धी समस्या हुने भएकाले नीतिमा यस विषयको समाधान सुनिश्चित हुनु जरुरी रहेको बताइन् । “महिला किसानको सहभागितालाई प्राथमिकतामा राखेर निर्णयमा पहुँच बढाइयोस्,” उनले भनिन् ।

सप्रोस नेपालकी कार्यकारी निर्देशक सन्जु बगालेले गाउँपालिकाले सुरु गरेका सकारात्मक पहलहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि विकासका काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

समापन सत्रमा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले “जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति २०८२” ले स्थानीय कृषि पेशामा सकारात्मक सुधार ल्याउँदै दीगो कृषि प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले नीति कार्यान्वयनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले आगामी कार्यक्रमहरू नीतिअनुसार अघि बढाइने प्रतिवद्धता पनि प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय