सिरहा / सिरहा र धनुषा जिल्लाको सिमानामा बग्ने पवित्र कमला नदीको किनार आज भूतमेलाको जनसागरमा परिणत भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि बिहानैदेखि श्रद्धालु, धामीझाँक्री र भक्तजनहरूको भीड लागेको हो । जनविश्वासअनुसार आजको दिन कमला नदीमा स्नान गरे तान्त्रिक विद्या सिद्ध हुने र योग प्राप्त हुने मानिन्छ ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ भन्ने मन्त्रोच्चारणसँगै धामीझाँक्रीहरू मिर्दङ, झ्याली, ढोल र पिपहीको तालमा देउता खेल्दै स्नानमा सहभागी भएका छन् ।

कमलेश्वरी देवीको आशीर्वाद पाउन नदीमा स्नान गर्नेको भीड हरेक वर्ष बढ्दै गएको छ ।

सिरहा, धनुषा, सप्तरी, महोत्तरी, उदयपुरसहित भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर र जयनगरसम्मका भक्तजनहरू बिहानैदेखि कमला नदीमा डुबुल्की मारिरहेका छन् । स्नानपछि धामीझाँक्रीहरूले देउता खेल्दै तान्त्रिक साधनाको पूर्णाहुति दिने गर्छन् ।

कात्तिक पूर्णिमामा पहेँलो धोती र सारीमा सजिएका सिकारु धामीझाँक्री बलेको आगोको भाँडा र बेतको लाठी बोकी गङ्गास्नान गर्न आउँछन् । उनीहरू आफूमा आएको देउतालाई सिद्ध गर्न आउने बताउँछन् ।”

कमला किनारमा मादल, करताल, ढोल र पिपहीको तालमा धामीझाँक्रीहरूको चिच्याहटले भय र आस्थाको अनौठो वातावरण बनाएको छ । स्नानको क्रममा मूलधामीले गाउँने लोकभाका ‘महराइ’ले धार्मिक उर्जा थपेको छ ।

तराई–मधेसमा मन्त्र सिक्ने धामीलाई ‘भगता’ भन्ने चलन छ । पवित्र नदीमा पहिलो स्नान गर्ने भगतासँग आशिष थाप्न भक्तजनको भीड लागेको छ । आजको दिन कमला नदीको तट श्रद्धा, रहस्य र परम्पराको अद्भुत संगम बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय