राेयाण्टर मण्डल
लहान / रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानमा बिरामीहरुले निकै सास्ती भोग्नुपरेको छ।
स्वास्थ्य बीमा भएका बिरामीहरु बिहान सबेरैदेखि अस्पतालमा टिकट लिनका लागि लामबद्ध भएका थिए। बिरामी दर्ता शाखामा एक जना मात्र कर्मचारी रहेकाले र त्यसमा पनि इन्टरनेट स्लो भएको कारण स्वास्थ्य बीमाको सेन्ट्रल सर्भर ढिलो चल्दा बिरामीले पुर्जा लिन ३ देखि ४ घण्टा कुर्नुपरेको थियो ।
केही बिरामीले अन्ततः उपचार नै नपाई घर फर्किनुपरेको दुखेसाे पोखेका छन्। स्वास्थ्य बीमा कार्यक्रमले सर्वसाधारणलाई राहत दिने उद्देश्यका साथ नेपाल सरकारले लागू गरेको भए पनि अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा बिरामीको धैर्यता गुम्ने अवस्था आएको उनीहरू बताउँछन् ।
सुखीपुर नगरपालिका–८ का सुरेन्द्र साहले अस्पताल व्यवस्थापनले यसतर्फ तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।
उनका अनुसार, “स्वास्थ्य बीमा बिरामीलाई घण्टौँ लाइनमा राखेर उपचार नगर्दा कार्यक्रमप्रतिको विश्वास नै कमजोर बन्दै गएको छ।”
साेमबार बिहान ११ बजे लाममा बसेका बिरामीहरुले ४ घण्टा पछि मात्र पुर्जा पाएका थिए। त्यसपछि डाक्टर कहाँ रिपोर्ट देखाउन र ल्याबमा पनि पुनः लामबद्ध हुनुपरेको बिरामीहरुले बताएका छन् ।
धेरै बिरामी स्वास्थ्य बीमा भएको कारण पैसा नलिई टाढाटाढाबाट अस्पताल आएका थिए। तर लामो प्रतीक्षापछि पनि उपचार नपाउँदा उनीहरू निराश बनेका छन् ।







