जीवछ उदासी
सिरहा / लहान नगरपालिका–३ मा रहेको रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। अस्पतालमा सेवा–सुविधा विस्तार र निरन्तर निगरानी बढेपछि बिरामीहरूको विश्वास पनि बढेको अस्पताल स्रोतले जनाएको छ ।

विराटनगर र धरानतर्फ उपचारका लागि जाने बिरामीहरू अहिले लहानमै उपचार गर्न थालेका छन्। अस्पतालमा आधुनिक ल्याब, डायलाइसिस सेवा, विभिन्न विभागका विशेषज्ञ चिकित्सक र कुशल मेडिकल सुपरिटेन्डेन्टको सक्रियताका कारण दैनिक तीन सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण हुन थालेको मेसु रञ्जितकुमार झाले जानकारी दिनुभयो ।

पहिले पन्ध्र शय्याको रूपमा सञ्चालन भएको अस्पताल अहिले सय शय्याको उपचार क्षमता सहित सेवा दिइरहेको छ। तर अस्पतालको जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक निर्माणका काम अघि बढ्न नसकेको मेसु झाले बताउनुभयो ।

वि.सं. २०३७ सालमा दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाले निर्माण गरिदिएको अस्पतालका लागि करिब एक बिघा पन्ध्र कठ्ठा जग्गा रहेको छ। दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका जग्गा रजिष्ट्रेशन गर्न तयार भए पनि लाभकर एक करोड ३५ लाख रूपैयाँ लाग्ने भएपछि यो प्रक्रिया रोकिएको हो ।

प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीका अनुसार उक्त लाभकर मिनाहाका लागि मधेश प्रदेश सरकारले पहल गरे पनि अहिले संघीय सरकारको अर्थ मन्त्रालयमा फाइल अड्किएको छ। उहाँले भन्नुभयो, “संघीय स्तरमा निर्णय रोकिएपछि अब यो विषयमा सर्वदलीय पहल आवश्यक छ ।”

दाता परिवारका मुरारीलाल मुरारकाले पनि अस्पतालको स्थायित्वका लागि जग्गा रजिष्ट्रेशन गर्न तयार रहेको र आवश्यक परे थप लगानी गर्न पनि इच्छुक रहेको बताउनुभयो। तर प्रक्रिया लम्बिँदा अन्य सहयोग गर्न पनि कठिन भएको उहाँको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताका अनुसार जग्गा रजिष्ट्रेशन सम्पन्न भएपछि जीर्ण भवन मर्मत, नयाँ भवन निर्माण, चिकित्सक आवास गृह सुधार तथा सिटी स्क्यान सञ्चालनलगायतका काम अघि बढाउन सहज हुनेछ। उहाँले तीन तहका सरकारबीच समन्वय गरेर आवश्यक पहल सुरु गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय