राेयाण्टर मण्डल
सिरहा / सिरहामा लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण आलु खेतीमा व्यापक क्षति पुगेको छ। बेमौसमी भारी वर्षाले खेतबारीमा पानी जम्दा किसानका आलुका बीउ बिग्रिएका छन्।
आलु लगाउने समयमा परेको वर्षाले यस वर्ष उत्पादनमा ठूलो ह्रास आउने कृषि प्राविधिक मनिषा कुमारी मण्डलले बताइन्। उनका अनुसार, केही किसानले पहिले नै आलु रोपिसकेका थिए भने अरूले तयारी गरिरहेका थिए। तर, खेतमा पानी जमेकाले दुवै समूहका किसान प्रभावित भएका छन्।
नवराजपुर गाउँपालिका–२ का किसान अमिरी यादवले २ कठ्ठामा लगाएको आलु पानीका कारण नष्ट भएको दुःख व्यक्त गर्नुभयो। “खेतमा पानी निकास नहुँदा सारा आलु सड्ने अवस्थामा पुगेको छ,” यादवले भन्नुभयो।
सिरहाका हजारौं किसान अहिले यस्तै समस्याबाट चिन्तित छन्। जसले पहिले नै रोपिसकेका छन्, तिनीहरूको आलु सड्ने अवस्थामा पुगेको छ भने रोप्न बाँकी किसानले खेतमा पानी जमेकाले समयमा खेती गर्न नसक्ने स्थिति छ।
कृषि प्राविधिक मण्डलका अनुसार, यदि पानी चाँडै नघटे र मौसम अनुकूल नबने, यस वर्ष सिरहामा आलु उत्पादनमा उल्लेखनीय कमी आउने अनुमान गरिएको छ।





