जनता टुडे
लहान (सिरहा) / लहानको खुट्टी खोलामा छठ पर्व मनाउन तयार पारिएको घाटको सम्पूर्ण सजावट खर्च जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास सारडाले व्यक्तिगत रूपमा व्यहोरेका छन् ।

सारडाले घाट सजावट र बत्ती व्यवस्थापनका लागि करिब दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। उनका अनुसार घाटमा प्रकाश, तोरण, रंगोली र साउन्ड सिस्टमको व्यवस्था गरी व्रतालु र भक्तजनलाई सहज वातावरण मिलाइएको छ ।

यससँगै, व्रतालु र भक्तजनका लागि निशुल्क खाने पानी , चिया र विस्कुट वितरणको पनि व्यवस्था गरिएको छ। स्थानीय युवाहरूको सहकार्यमा निरन्तर पानी चिया र विस्कुट वितरण हुँदै आएको छ, जसले पर्वमा सहभागीहरूलाई राहत पुगेको छ ।

सारडाले धार्मिक तथा सांस्कृतिक पर्वमा सामुदायिक सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज (साेमवार) छठ पर्वको मुख्य दिन आज (साेमवार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ।

आज मिथिलाञ्चलका गाउँदेखि शहरसम्मका जलाशयहरूमा दुलहीझैँ सिँगारिएका घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य अर्पण गरेका छन् ।

माटोले बनाइएको नयाँ घैलो, हात्ती, कोसिया कुरबार, बाँसले बनेका कोलसुप, सुपा, ढकिया र चंगेरामा प्रसाद राखी व्रतालुहरू जलाशयमा जम्मा भएका थिए। जलाशयको दृष्य मनमोहक देखिन्थ्यो। अस्ताउँदो सूर्यलाई अर्घ्य दिने क्रममा व्रतालुहरूले चामलको घोल, सिन्दूर, अक्षता र फूलसहित दुवै हातमा अर्घ्य सामग्री लिएर सूर्यदेवता समक्ष पालैपालो अर्पण गरेका थिए ।

३६ घण्टासम्म पानीसमेत नखाई बसिने यो व्रतमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य अर्पण गर्दै छठीमाताको पूजा आराधना गरिन्छ। भोलि मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

विना भेदभाव सबै जातजाति र समुदायका व्यक्तिहरू पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्यदेवताको पूजा गर्ने परम्परा रहेको यस पर्वले साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय