राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सरकारले देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यस अन्तर्गत सिरहा जिल्लाको सुखीपुरमा पनि इलाका प्रशासन कार्यालय खोलिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त निर्णयलाई मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको हो। अब प्रशासन समितिले कार्यान्वयन प्रक्रिया अघि बढाउनेछ ।
गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषय मन्त्रालयको वार्षिक बजेटमै समावेश छ। अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि कार्यालय स्थापना कार्य अघि बढ्ने उनले बताए ।
सरकारले सेवा प्रवाहलाई सहज बनाउन, जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई न्युनिकरण गर्न २३ जिल्लामा नयाँ कार्यालय खोल्ने तयारी गरेको हो ।
सुखीपुरवासीले लामो समयदेखि प्रशासनिक सेवाका लागि जिल्ला सदरमुकाम जिल्ला प्रशासन कार्यालय सिरहा सिरहा र इलाका प्रशासन कार्यालय लहान धाउनु पर्ने बाध्यता रहेकोमा अब आफ्नै नगरमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयले सहज र छिटो सेवाप्रवाह पाउने विश्वास गरिएको छ ।
एउटै नगरपालिकाकाे जनता दुई ठाउँबाट सेवा लिनुपर्ने बाध्यता थियाे । सुखीपुर वडा नम्बर २,३,४,५,६,७,८ वडावासी जिल्ला प्रशासन कार्यालय सिरहामा र वडा नम्बर १ र ९ का वडावासी इलाका प्रशासन कार्यालय लहानबाट सेवा पाउने गरेकाे बाध्यता थियाे तर अब सुखीपुर स्थापना हुने भएपछि सुखीपुर लगायत छिमेकी पालिकाका जनताहरु पनि नागरिकता लगायतका सेवाहरु सुखीपुरमा पाउने आशा जागेकाेले खुशी भएका छन् ।







