लहान (सिरहा) — सिरहा, लहान नगरपालिका–२३ गाढा गाउँका ३५ वर्षीय हरि मोहन मुखियाको शव काठमाडौं मेडिकल कलेज (केएमसी) मा बन्धक परेको घटना मानवीय संवेदनाको प्रतिक बनेको छ।
विगत दुई महिना उपचाररत मुखियाको आर्थिक अवस्था कमजोर थियो। परिवारले ३ कठा खेत ४ लाख १० हजार रुपैयाँमा बेचेर र गाउँलेहरूसँग ऋण लिई उपचार खर्च जुटाएका थिए। तर, साउन २१ गते बिहान निधन भएपछि अस्पतालले बाँकी २ लाख नतिरेसम्म शव नदिने अडान लिँदा परिवार संकटमा पर्यो।
सहयोगको लहर र दबाब
मृतककी श्रीमतीले सक्दो सम्पत्ति बेचेर बुझाइसकेको अनुरोध गर्दा पनि अस्पताल नमानेपछि काठमाडौंमा बसोबास गर्ने मधेसका शिव यादव, बबलु गुप्ता, रविराज साह, कपिल देव साहलगायत युवाहरू सक्रिय भए। उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोग अभियान सुरु गरे।
एम्बुलेन्सको खर्चसमेत नभएका कारण ती युवाहरूले नै व्यवस्था मिलाएर शव लहानस्थित घर पुर्याए र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो।
खेत फिर्ता, ऋण चुक्ता, हातखर्च पनि
मुखिया परिवारको जीविकोपार्जन गर्ने एक मात्र सहारा हरि मोहन थिए। उनका दुई छोरा (११ र ५ वर्ष) र दुई छोरी (१३ र ८ वर्ष) अब अनाथ बनेका छन्।
सहयोगी युवाहरूले संकलित रकमबाट उपचारका क्रममा बिक्री भएको ३ कठा खेतको मूल्य बुझाई पुनः परिवारको नाममा गराइदिए। त्यस्तै, उपचार खर्चका लागि लिएको १ लाख ८० हजार रुपैयाँ ऋण तिर्नुका साथै बाँकी २१ हजार २६५ रुपैयाँ मृतककी श्रीमतीलाई हातखर्चका रूपमा बुझाइयो ।
कुल ६ लाख ११ हजार २६५ रुपैयाँ बराबरको सहयोग व्यवस्थित रूपमा खर्च भएको युवाहरूले जनाएका छन् ।
गाँवलेहरूका अनुसार, “यस्ता युवाहरूको पहलले समाजमा सकारात्मक सन्देश दिएको छ। सहानुभूति मात्र होइन, व्यवहारिक सहयोग पनि आवश्यक पर्छ भन्ने यो घटनाले देखाएको छ ।”







