काठमाडौं / मधेश प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोगसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रूपमा उत्खनन गरेर बनेको खाल्डोमा माछापोखरी निर्माणको नाममा करोडौं रकम दुरुपयोग गरिएको हो। संघीय, प्रदेश र स्थानीय सरकारबाट प्राप्त बजेट प्रयोग गरी पोखरीसहितका संरचना गैरकानूनी रूपमा निर्माण गरिएको भन्दै आयोगले आरोप पत्र पेश गरेको छ ।

अनुसन्धानमा बागमती नगरपालिकाले सागरनाथ वन क्षेत्रभित्र अधिकार प्राप्त निकायको अनुमति विना, आवश्यक वातावरणीय अध्ययन नगरी, खरिद योजना स्वीकृत नगरी निर्माण कार्य अघि बढाएको देखिएको छ। सो क्रममा पूर्वमन्त्री यादवले मन्त्रिपरिषद् स्वीकृति विना ३० करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको उल्लेख छ ।

अख्तियारका अनुसार जम्मा रु. ५६ करोड ७१ लाख ७ हजार २९२ बराबरको सरकारी सम्पत्तिमा हानिनोक्सानी र दुरुपयोग भएको ठहर गर्दै सोही बराबरको सजाय मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

– टुडे खाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय