सिरहा / लहान नगरपालिका–३ मा बलान नदी छेउमा मधेस प्रदेश सरकारले लाखौं रुपैयाँ खर्चेर निर्माण गरेको सहिद रमेश महतो पार्क वर्षौं बितिसक्दा पनि अधूरो अवस्थामा अलपत्र परेको छ ।
पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो स्मारकस्थल अहिले संरक्षण र सम्वर्द्धन अभावमा खरानी झैँ हुँदै गएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट करिब १०० मिटर दक्षिणमा अवस्थित यस पार्कसम्म पुग्ने बाटो पनि दुर्गम छ भने कुनै पहिचान बोर्डसमेत राखिएको छैन। पार्कभित्र घाँस पलाएको, संरचना जीर्ण बन्दै गएको र सहिद महतोको प्रतिमा अझैसम्म स्थापना नगरिनु विषयले जनगुनासो निम्त्याएको छ ।
स्थानीय समाजसेवी प्रमोद यादव भन्छन्, “सहिद महतोको नाममा पार्क बनाउने अनि उहाँको प्रतिमा नै नराख्नु दु:खद विडम्बना हो। यहाँ अन्य सहिदहरूको पनि प्रतिमा राख्न सकियो भने स्मारकस्थलका रूपमा विकसित गर्न सकिन्छ ।”
पार्कलाई भावनात्मक, ऐतिहासिक र शैक्षिक दृष्टिले प्रभावकारी बनाउने हो भने तत्काल स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी थप बजेट विनियोजन गर्नु अपरिहार्य देखिन्छ। हरियाली विस्तार, बालमैत्री संरचना, खुला व्यायाम क्षेत्र, प्रकाश व्यवस्थापन, विश्रामस्थल र सहिद विवरणसहितको शिलालेख निर्माण जस्ता उपायमार्फत यसलाई जीवन्त बनाउन सकिने विज्ञहरूको सुझाब छ ।
सिरहा जिल्लाको ऐतिहासिक आन्दोलनको साक्षीका रूपमा चिनिने यो पार्कलाई सहिदको सपना साकार पार्ने स्थल बनाउने जिम्मेवारी अब राजनीतिक दल र जनप्रतिनिधिले लिनुपर्ने स्थानीयको जोडदार माग छ ।






