सिरहा / देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव बढेपछि विभिन्न क्षेत्रमा वर्षा र चट्याङ्गको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र कोशी, बागमती, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र देशभरिका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
राति समेत देशका केही भागमा बदली र वर्षा जारी रहनेछ। चट्याङ्गसहितको वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।







