
काठमाडौँ / विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारले ठूलो निर्णय गरेको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयकलाई अगाडि बढाउन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार सरकार विधेयक पारितका लागि आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध छ। उहाँले नेपाल शिक्षक महासङ्घले उठाएका मागप्रति सरकार संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै संवाद प्रक्रिया निरन्तर चलिरहेको जानकारी दिनुभयो ।
सरकारले शिक्षक आन्दोलनलाई गम्भीर रूपमा लिएको भन्दै हाल विद्यार्थी भर्ना, एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा जस्ता महत्त्वपूर्ण शैक्षिक गतिविधिहरू चलिरहेको अवस्थामा आन्दोलन स्थगन गर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।
मन्त्री भट्टराईले अभिभावक र विद्यार्थीको हितलाई प्राथमिकतामा राख्दै सम्पूर्ण शिक्षकहरूलाई आफ्नो कार्यस्थलमा फर्किन अनुरोधसमेत गर्नुभएको छ ।