
मनिषा मण्डल
लहान / नयाँ वर्षकाे लक्षित गरि ईलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहान बजारका राजमार्ग केन्द्रित होटल तथा पसलहरूको अनुगमन थालिएको छ।
बुधबार सम्पन्न संयुक्त अनुगमनमा म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खाद्यसामग्री बिक्री वितरण गरेको पाइएपछि चार वटा होटल तथा एक पसलहरूलाई कूल ३० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान तथा उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमनका क्रममा लहान–१ स्थित कान्छा होटल बाट म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ बोतल बियर जफत गरी नष्ट गरिएको छ। सो होटललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
लहान १ स्थित रमेश चाैकमा रहेका सम्राट हाेटललाई पाँच हजार, चाैधरी हाेटललाई सल्लाह सुझाव दिएकाे हाे भने लहान–४ को होटल गोधुल्ली मा सरसफाइमा चरम लापरवाही भएकाे भन्दै ५ हजार जरिवाना , लहान चाैधरी आँखा अस्पताल परिसरमा रहेको किरन स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खाना बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको र भान्सा नजिकै फोहोर थुपारिएको भेटिएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यस्तै, सोही परिसरमा रहेको रिषिका जनरल स्टोर्स मा म्याद गुज्रेको ३८ वटा ‘कोल्ड ड्रिङ्क्स’ फेला परेको थियो। पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तु बिक्री गरेको पाइएपछि दस हजार रुपैयाँ जरिवाना तिराइएको छ। जफत गरिएका सामग्रीहरू आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ।
संयुक्त टोलीले आगामी दिनमा पनि अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।