सिरहा /  प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापनाको कुरा “दिउँसै देखिएको सपना” मात्र भएको टिप्पणी गर्दै ती सपना चैत १५ कै घटनाले चकनाचुर भइसकेको दाबी गर्नुभएको छ ।

सिरहा सदरमुकाममा आयोजित नेकपा (एमाले) को ११औँ सिरहा जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले अब राजतन्त्रको धारणालाई कहिल्यै नस्वीकार्ने स्पष्ट सन्देश दिएको बताउनुभयो ।

उहाँले भने, “राजतन्त्र फर्किन्छ भन्ने कुरा राति देखिएको सपना पनि होइन, दिउँसै देखिएको सपना हो। त्यो अब काम लाग्दैन। चैत १५ गतेको घटनाले त्यो सपना चकनाचुर गरिदियो ।”

प्रधानमन्त्री ओलीले सोही दिन भएका अराजक क्रियाकलापप्रति कडा आपत्ति जनाउँदै घरमा आगजनी, लुटपाट, सञ्चारगृहमाथिको आक्रमण र मान्छेभित्र थुनेर जलाउनेजस्ता कार्यलाई असह्य र विध्वंसकारी बताए। “त्यस्तालाई कुनै हालतमा स्वीकार गर्न सकिंदैन,” उहाँले जोड दिनुभयो ।

देश सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रलाई अझ सुदृढ बनाउने प्रतिवद्धता दोहोर्याउनुभयो।

“समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य पुरा गर्न सरकार गम्भीर भएर अघि बढिरहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले सम्बोधनको क्रममा धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल समयमै निर्माण गरी यातायात सञ्चालन सुनिश्चित गर्न सरकारले विशेष ध्यान दिइरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पार्टीका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव लगायत नेताहरूको समेत सम्बोधन रहेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले जनकपुरमा मधेस प्रदेशसभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय