
मनिषा मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा यस वर्ष पनि चैती छठ महोत्सव धूमधामका साथ मनाइँदै छ।
सूर्य उपासनाको चार दिने महापर्व अन्तर्गत आज बुधबार दोस्रो दिन खरना पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाइँदैछ।
चैती छठ महोत्सव समितिका अध्यक्ष महेश साहका अनुसार धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मंगलबारदेखि सुरु भएको यो पर्व अन्तर्गत आज साँझ घरघरमा कुल देवताको पूजा गर्दै भगवान सूर्यदेव र छठी मातालाई आगमनको निम्तो दिने परम्परा रहिआएको छ।
खरनाका दिन व्रतालु महिलाहरू दिनभरि निर्जल एवं निराहार उपवास बसेर साँझपख खीर, पूडी, लड्डु, केरा, तुलसीको पात लगायतका प्रसाद तयार गर्छन्। कुल देवताको पूजा गरेपछि सूर्यदेव र छठी मातालाई निष्ठापूर्वक प्रसाद (नेउज) अर्पण गरिन्छ ।
सुखीपुर ८ की व्रतालु उर्मिला पण्डितका अनुसार खरना सम्पन्न गरेपछि राति व्रतालुहरू अरवा भोजन मात्र ग्रहण गर्छन्, जसमा नुनरहित खीर, पुरी र केरा मुख्य हुन्छन् ।
मिथिलाञ्चलका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा र भारतका मिथाला क्षेत्रमा पनि यो पर्व भव्य रूपमा मनाइन्छ ।
सुखीपुर चैती छठ महोत्सव समितिका सचिव ओम प्रकाश गुप्ताका अनुसार सत्य, अहिंसा, सहानुभूति एवं समृद्धिको प्रतीक रहेको यो पर्वले समाजमा धार्मिक एवं सांस्कृतिक एकता ल्याउने कार्य गर्दछ ।
सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रामजानकी पोखरीमा व्रतालु भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। मंगलबार पहिलो दिन नहा-खा (स्नान एवं शुद्ध भोजन) सम्पन्न भएको थियो भने आज खरना मनाइँदैछ ।
पर्वको तेस्रो दिन बिहीबार साँझ, व्रतीहरू परम्परागत विधिअनुसार गहुँ र चामल कुटान-पिसान गरी ठकुवा, भुसवा, खजुरिया, पेरुकिया आदि परिकार तयार गर्छन्। विविध फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा, माटोका कलात्मक सामग्रीहरू समेत श्रद्धापूर्वक सजाएर छठ घाटमा लैजाने चलन छ ।
षष्ठीका दिन व्रतीहरू सन्ध्याकालीन अर्घका लागि जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। सप्तमीका दिन शुक्रबार बिहान पुनः जलाशयमा प्रवेश गरी उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै यो महान् पर्व समापन गरिन्छ ।
पौराणिक मान्यताअनुसार अज्ञातवासका क्रममा पाण्डवहरूले मिथिलाको किरात राजाका क्षेत्रमा सूर्यदेवको उपासना गरेका थिए। त्यसै बेलादेखि छठ पर्व मनाउने परम्परा शुरु भएको विश्वास गरिन्छ। सूर्य पुराणका अनुसार पहिलोपटक पत्नी अनुसूइयाले छठ व्रत गरिन्, जसका कारण उनले अटल सौभाग्य प्राप्त गरिन्। यही परम्परा पछिसम्म निरन्तर रहँदै आएको धार्मिक विश्वास छ ।
हिन्दू-मुस्लिम एकता झल्काउने यस पर्वमा ७० बढी प्रकारका पदार्थ अर्पण गर्ने प्रचलन छ, तर आर्थिक अवस्था कमजोर भएकाहरूले गम्हरी धानको चामल मात्र चढाए पनि पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।