
लहान । सिरहाको गोलबजार नगरपालिका–९ की १३ वर्षीया गुलशना खातुनको शव गाडिएको अवस्थामा फेला परेको छ। फागुन २९ गते घरबाट निस्केकी खातुन बेपत्ता भएकी थिइन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार बालिकाको शव बोरामा बेरेर जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो। शव कुहिसकेको अवस्थामा रहेकाले गाउँमा दुर्गन्ध फैलिएको थियो। स्थानीयले शंका गरी प्रहरीलाई खबर गरेपछि प्रहरीले उत्खनन गर्दा खातुनको शव भेटिएको हो ।
गोलबजार–९ का पूर्व वडाध्यक्ष रामपुकार कामतीका अनुसार घुर्मी खोला किनारमा गाडिएको अवस्थामा शव भेटिएको थियो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तबहादुर बाखुले बालिकाको हत्या गरी गाडिएको स्पष्ट भइसकेको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खातुनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा छोरी बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएकी थिइन्। खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
स्राेत : टुडे खाेज