
विराटनगर / विराटनगरका अग्रज साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित तेस्रो कृति ‘समदृष्टि’ समालोचनासङ्ग्रहको विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. प्राज्ञ देवी नेपाल, विशिष्ट अतिथी प्राध्यापक कविराज न्यौपाने, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ लगायत अग्रज साहित्यकारहरूले सामूहिक रूपमा पुस्तक विमोचन गरे ।
साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकहरूको व्यक्तित्व र कृतित्वमाथि समालोचना गरिएको ‘समदृष्टि’ समालोचनासङ्ग्रहको समीक्षा साहित्यकार हरि कट्टेलले गरे। उनले समालोचना गर्दा कृतिको गहिरो अध्ययन आवश्यक पर्ने भन्दै पोखरेलको कृति उत्कृष्ट रहेको बताए ।
प्रमुख अतिथि प्रा.डा. प्राज्ञ देवी नेपालले ‘समदृष्टि’ गहन अध्ययनयोग्य कृति भएकाले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपानेले पोखरेलको समालोचनात्मक लेखनशैली मानक कृतिहरू सिर्जना गर्न सक्षम रहेको बताए ।