सुरेश कुमार राय

सिरहा । सिरहाको गोलबजार नगरपालिका-४ निवासी २४ वर्षीय अजय साहलाई जबरजस्ती करणीको आरोपमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार, उनलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, पीडित युवतीले अजयविरुद्ध उजुरी दिएपछि उनको खोजी भइरहेको थियो। उजुरी परेपछि उनी केही समयदेखि लुकीछिपी बस्दै आएका थिए, तर बिहीबार राति प्रहरीले उनलाई नियन्त्रणमा लियो।

अजय साहको गिरफ्तारीपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। एक पक्षले उनलाई दोषी भन्दै कडा कारबाहीको माग गरिरहेका छन्, भने अर्काे पक्षले उनी निर्दोष रहेको र षड्यन्त्रपूर्वक फसाइएको आरोप लगाइरहेका छन्।

अजयका समर्थकहरूका अनुसार, अजय र पीडित युवतीबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो। उनीहरूले प्रेम सम्बन्धका क्रममा युवतीले अजयसँग विवाहको माग गर्दै आर्थिक सहयोगको पनि माग गरेको आरोप लगाएका छन्। समर्थकहरूको दाबी अनुसार, जब अजयले पैसा दिन अस्वीकार गरे, युवतीले बलात्कारको आरोप लगाइन्।

सामाजिक सञ्जालमा #JusticeForAjay जस्ता ह्यासट्यागसहित व्यापक विरोध भइरहेको छ। उनका समर्थकहरूले प्रेमलाई षड्यन्त्रमा बदल्ने प्रवृत्ति बन्द गर,भन्ने नारा लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

नेपालमा पछिल्लो समय यस्ता घटनाहरू बारम्बार दोहोरिएको देखिन्छ। केही समयअघि राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने र लोकप्रिय अभिनेता अनमोल केसी माथि पनि यस्तै प्रकृतिको बलात्कार आरोप लगाइएको थियो।

यी घटनाहरूमा प्रेम सम्बन्धलाई पछि कानुनी मुद्दामा बदल्ने प्रवृत्तिबारे समाजमा गम्भीर बहस सुरु भएको छ।

बलात्कार जस्तो गम्भीर आरोपमा न्याय प्रणालीले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु आवश्यक छ। यदि अजय दोषी हुन् भने उनलाई कानुनी दायरामा ल्याउनुपर्छ, तर यदि उनी निर्दोष छन् भने उनलाई अन्यायबाट बचाउनु पर्छ।

यस्ता घटनाले समाजमा प्रेम, विश्वास र कानुनी प्रणालीप्रति नै प्रश्न उठाउन थालेको छ। प्रेम सम्बन्धलाई जबरजस्ती कानुनी मुद्दामा बदल्ने प्रवृत्ति रोक्नुपर्छ, साथै पीडितले न्याय पाउने वातावरण पनि सुरक्षित गरिनुपर्छ।

यस घटनामा वास्तविकता के हो भन्ने कुराको पूर्ण छानबिनपछि मात्र सत्य बाहिर आउनेछ। तर, यो प्रकरणले फेरि एक पटक न्याय प्रणाली, प्रेम सम्बन्ध र समाजमा बढ्दै गएको अविश्वासबारे गम्भीर प्रश्न उठाएको छ।

स्राेत : मार्गानुगामी दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय