जनता टुडे समाचारदाता
लहान (सिरहा) /  सिराहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत एक कर्मचारी  अस्पतालकै एक बैठक कक्षमा अचेत भइन् । उनलाई विगत लामो समयदेखि मानसिक तनाव दिँदै आएको आरोप त्यही अस्पतालका डा. विजय चौधरी माथि लागेको छ।

आज अस्पतालको माथिल्लो तल्लामा सीमालाई न्याय दिलाउन समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समितिका पदाधिकारीबीच छलफल भइरहेको थियो ।

सोही क्रममा महिला कर्मचारी  अचानक बेहोस भई कुर्सीबाट लडेपछि बैठक कक्षमै केही समय टेबलमा राखियो । त्यसपछि उनलाई हतारहतार व्हील चेयरमा अस्पताल बाहिर ल्याई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ, जहाँ उनलाई अक्सिजन दिएर उपचार भइरहेको छ ।

पटक–पटक प्रशासनलाई गुनासो, तर न्याय शून्य !

श्रीमतीलाई डा. विजय चौधरीको निरन्तरको मानसिक दबाब सहन नसकेर डिप्रेसनको सिकार हुनुपरेको श्रीमान दीपेन्द्र सिंह बताउँछन् ।

उनका अनुसार : अस्पताल प्रशासनलाई पटक–पटक मौखिक तथा लिखित रूपमा गुनासो दिइन्, तर उनी न्यायबाट वञ्चित हुँदै आइरहेकी थिइन्।

अस्पताल प्रशासन प्रमुख अभिषेक रोशन लाई पनि यो विषयमा जानकारी गराइएको थियो। तर अहिलेसम्म प्रशासनबाट कुनै ठोस कदम नचालिएको पिडित महिला कर्मचारीका परिवारजन बताउँछन्।

अस्पतालको छविमा दाग !

नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित यो अस्पताल नेपाल र भारतभर प्रख्यात छ। तर यहाँका महिला कर्मचारीले आफ्नै वरिष्ठ कर्मचारीबाट दुर्व्यवहार खेप्नु परेको घटना बाहिर आउनु अस्पतालकै गरिमामा दाग लाग्नु सरह भएको छ।

नेपाल नेत्र ज्योति संघ सिरहाका सभापति सन्तोष चौधरी भन्छन्, “घटनाबारे तत्काल केही बोल्न मिल्दैन, तर अन्तिम निष्कर्षमा आएपछि जानकारी गराइनेछ ।”

तर, पीडित महिलाले झेल्नुपरेको मानसिक तनाव कस्तो खालको थियो ? डा. विजय चौधरीबाट कस्तो व्यवहार सहनुपर्यो ? यी प्रश्नहरूको उत्तर अस्पताल प्रशासनले अहिलेसम्म दिन सकेको छैन।

अब के हुन्छ ?

अस्पताल प्रशासनले सत्यतथ्य छानबिन नगरेसम्म यो विषय थप रहस्यमयी र गम्भीर बन्दै जाने देखिन्छ। महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठ्ने वर्तमान परिप्रेक्ष्यमा पिडितले न्याय पाउलिन् कि पाउदिनन् भन्ने प्रश्न गम्भीर रूपमा उठिरहेको छ ।

अब अस्पताल प्रशासन, सरोकारवाला निकाय र कानूनी संस्थाहरूले यस विषयमा कस्तो कदम चाल्छन् ? सबैको ध्यान त्यतैतिर गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय