जनता टुडे समाचारदाता

जनकपुरधाम / मधेश प्रदेश सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षा प्रक्रियाबाट अलग रहने घोषणा गरेको छ। प्रदेश सरकारले केन्द्राध्यक्ष नियुक्तिका लागि गोलाप्रथाको विधि अपनाउने निर्णय गरे पनि जिल्ला परीक्षा समन्वय समितिहरूले पूर्ववत् रूपमा केन्द्र विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएको भन्दै सरकार असन्तुष्ट देखिएको हो ।

 

मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा परीक्षा प्रणालीको निष्पक्षता, पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न प्रदेश सरकारले अपनाएको विधिलाई बेवास्ता गर्दै केन्द्राध्यक्ष चयन गरिएको उल्लेख गरिएको छ। संघीय सरकारका कर्मचारीहरू रहने परीक्षा समितिले प्रदेश सरकारको निर्देशन अवज्ञा गरेको आरोप लगाउँदै मुख्यमन्त्री सिंहले एसईई परीक्षामा सम्भावित विकृति तथा बेथिति रोक्न प्रदेश सरकार जिम्मेवार निकायहरूको निर्णयको साक्षी मात्र बनेर नबस्ने स्पष्ट पारेका छन् ।

 

प्रदेश सरकार र संघीय सरकारबीच सहकार्यको आवश्यकता औंल्याउँदै उनले संघीय शिक्षा मन्त्रीको निर्देशनसमेत उल्लंघन गरिएको दाबी गरेका छन्। साथै, उनले परीक्षा मर्यादित बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सुदृढ समन्वय आवश्यक रहेको उल्लेख गर्दै यसपटकको एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सहभागी नहुने जानकारी गराएका छन् ।

 

मुख्यमन्त्री सिंहले परीक्षामा सहभागी विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षा दिन पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सबै परीक्षार्थीलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय