जनता टुडे समाचारदाता
लहान (सिरहा) / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिरहा र सप्तरी जिल्लाका चार सय हेक्टर जमिनमा चैते धान उत्पादनका लागि अनुदानमा उपलब्ध गराइएको बीउ नउम्रिएपछि सुरुङगा नगरपालिका–७ का किसानहरू गम्भीर चिन्तामा परेका छन्।

सुरुङगा–७, चकदहका किसानहरूले राधा कृष्ण सहकारी र राम जानकी कृषि सहकारीमार्फत अनुदानमा प्राप्त गरेको चैते धानको बीउ नउम्रिएपछि कृषि लगानी खेर गएको गुनासो गरेका छन्। २५ वर्षदेखि चैते धान खेती गर्दै आएका किसानहरूले प्रति कठ्ठा ६ हजारको दरले धान उत्पादन गर्दै आएका थिए।

किसानहरूको क्षतिपूर्तिको माग

राम जानकी सहकारीले एक क्विन्टल २० किलो र राधा कृष्ण सहकारीले दुई क्विन्टल बीउ वितरण गरेका थिए। तर बीउ नउम्रिएपछि सात विघा खेतमा खेती गर्न नसकिएको किसान विजय परसैला, शिवराम शर्मा, बाबुनन्द चौधरी र रम्भा चौधरीले बताएका छन्। चकदहका अर्का किसान साने यादवले भने, “बीउको पुनः परीक्षण गर्दा पनि उम्रिएन। कार्यालय र सोनाई बीउ वितरण केन्द्रबीच मिलेमतोमा कमसल बीउ वितरण भएको छ।”

प्राविधिक परीक्षणमा ८३ प्रतिशत अंकुरण

धान जोन प्राविधिक इकाई, कदमाहाका प्राविधिक चन्दन सुनरैतले भने, “सिरहा र सप्तरीका अन्य स्थानमा यही बीउ उम्रिएको छ। तर, सुरुङगामा नउम्रिएको बीउको महोत्तरी जलेश्वरको प्रयोगशालामा परीक्षण गर्दा ८३ प्रतिशत अंकुरण देखिएको छ। थप अनुसन्धानपछि निष्कर्ष निकालिन्छ।”

कृषि विभागका अनुसार सिरहा र सप्तरीमा चैते धान उत्पादनका लागि ३४ लाख अनुदानको बजेट आएको थियो। सोनाई बीउ भण्डार, राजविराजका सञ्चालक सोनाई दासका अनुसार सप्तरीको अन्य स्थानमा बीउ उम्रिएको दाबी गरिएको छ।

अब किसानले आफ्नो लगानी गुमाउने कि क्षतिपूर्ति पाउने भन्ने विषय अझै अनिश्चित छ। कृषि कार्यालयले यस विषयमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने किसानहरूको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय