
सुखीपुर (सिरहा) / सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ३ बाट विभिन्न राजनीतिक दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
जसपाका वडा कमिटी अध्यक्ष लक्ष्मी प्रसाद सिंहसहित नेपाली कांग्रेस, जनमत पार्टी, जसपा नेपालका नेता–कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन्।
इन्चार्ज श्रेष्ठद्वारा भव्य स्वागत
नवप्रवेशीहरूलाई नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले अबिर र माला लगाएर स्वागत गर्नुभयो। उहाँले एमालेको संगठनलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्न आग्रह गर्दै पार्टीलाई जनताको भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
समृद्ध नेपालको नेतृत्व एमालेमै
कार्यक्रममा उपस्थित नेताहरूले नेकपा (एमाले) नै देशको समृद्धिको मार्गदर्शक शक्ति भएको उल्लेख गर्दै नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गरे। नवप्रवेशी कार्यकर्ताहरूले पनि एमालेको विचारधारामा प्रतिबद्ध रहँदै समृद्ध नेपाल निर्माणमा योगदान दिने दृढता व्यक्त गरे।
बढ्दो जनसमर्थन एमालेतर्फ
कल्याणपुर वडा नम्बर ३ का वडा कमिटी सचिवसहित थुप्रै कार्यकर्ताहरू एमालेमा समाहित भएका छन्, जसले मधेश प्रदेशमा एमालेप्रतिको जनअपेक्षा बढ्दै गएको स्पष्ट संकेत गरेको छ।
यस अवसरमा स्थानीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एमालेको बढ्दो लोकप्रियतासँगै अन्य दलका कार्यकर्ताहरूसमेत आकर्षित हुन थालेको देखिन्छ।