
लहान / सिरहा र सप्तरीका विभिन्न होटल तथा लजहरू यौन धन्दाको अखडाका रूपमा परिणत भएका छन् । खुला रूपमा अनैतिक क्रियाकलाप सञ्चालन भइरहे पनि स्थानीय प्रशासन र प्रहरी मौन बस्नुले गम्भीर प्रश्न खडा गरेको छ।
विशेष गरी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको गोलबजार, मिर्चैया, लहान, धनगढीमाई तथा सप्तरीका होटलमा संगठित रूपमा यौन व्यवसाय सञ्चालन भइरहेको छ। स्थानीयका अनुसार होटल सञ्चालकहरूकै मिलेमतोमा अवैध गतिविधि फस्टाएको हो। प्रहरीको आँखा छल्न होटल सञ्चालकहरूले विशेष कोड वा सम्पर्क नम्बरमार्फत ग्राहक बोलाउने गरेको खुल्न आएको छ।
प्रहरीको आँखा अगाडि खुला कारोबार
स्थानीय स्रोतका अनुसार केही होटलहरूमा प्रहरीकै मिलेमतोमा यौन धन्दा सञ्चालन भइरहेको छ। समय-समयमा केही होटलमा देखावटी छापा मारिए पनि प्रभावकारी कारबाही भएको छैन। होटल सञ्चालकहरूले पहिचान लुकाएर कारोबार गर्ने, स्थान परिवर्तन गर्ने, र प्रभावशाली व्यक्तिहरूको संरक्षणमा खुलेआम व्यापार गर्ने गरेका छन्।
समाजमा बढ्दो विकृति, प्रशासन बेखबर
स्थानीय बासिन्दाहरूले यौन धन्दाका कारण समाजमा विकृति फैलिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। खुला रूपमा भइरहेको यो अपराधले युवा पुस्तालाई विसंगतिको दलदलमा धकेल्ने खतरा बढेको छ। अवैध गतिविधिका कारण चोरी, लुटपाट, महिला हिंसा, यौनजन्य अपराधलगायत घटनामा वृद्धि भइरहेको भए पनि प्रहरी मुकदर्शक बनेको छ।
प्रभावकारी कारबाही नहुने हो भने समस्या विकराल बन्छ
समाजशास्त्रीहरू चेतावनी दिन्छन्— यदि यो अवैध धन्दा तुरुन्त नियन्त्रण गरिएन भने मानव तस्करी, जबरजस्ती देहव्यापार, यौनजन्य हिंसा जस्ता अपराध बढ्ने निश्चित छ। कानूनी विज्ञहरूका अनुसार होटल व्यवसाय सञ्चालनका लागि कडा निगरानी हुनुपर्ने र अनैतिक क्रियाकलापमा संलग्न होटलहरूलाई तत्काल बन्द गर्नुपर्ने आवश्यकता छ।
अब प्रश्न उठ्छ— प्रशासन यस्ता आपराधिक गतिविधिहरू रोक्न कति गम्भीर छ? प्रहरी वास्तवमै कानून कार्यान्वयन गर्न तयार छ कि अवैध कारोबारमा मौन समर्थन गर्दै बस्छ? यदि अविलम्ब कडा कदम चालिएन भने, सिरहा र सप्तरी अपराधको केन्द्र बन्दै जाने निश्चित छ।