जनकपुर / मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंह ले सप्तरीको सदरमुकाम राजविराजस्थित विभिन्न निजी अस्पतालहरूमा अनुगमन गरेका छन्। अनुगमनका क्रममा दुई अस्पताल नियमविपरीत सञ्चालन भएको भेटिएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा भएको अनुगमनका क्रममा राजविराजका ७ वटा निजी अस्पतालहरूको निरीक्षण गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अनुगमनका क्रममा प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर र भारती इमेजिङ सेन्टर ले नियम उल्लङ्घन गरी सञ्चालन गरिरहेको पाइएपछि मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई तत्काल बन्द गर्न आदेश दिएका छन्।

त्यसैगरी, अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटल ले १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरे पनि आवश्यक मापदण्ड पूरा नगरेकाले दुई महिनाभित्र मापदण्ड अनुरूप व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा ५० शय्याको युनिक सिटी अस्पताललाई सेवा अनुमति नवीकरण गर्न दुई महिनाको समयसीमा तोकिएको छ।

यसैगरी, २०० शय्याको छिन्नमस्ता अस्पतालको सेवा सन्तोषजनक रहे पनि सरसफाइ व्यवस्थापनमा सुधार गर्न आवश्यक रहेको भन्दै मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनलाई थप ध्यान दिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न कडाइका साथ नियम लागू गरिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय