
सिरहा / लहानस्थित जे एस मुरारका बहुमुखी क्याम्पस मा मनोनयन पत्र वितरण नगरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरूले संयुक्त रूपमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल क्रान्तिकारी र अनेरास्ववियु (एस) ले क्याम्पस निर्वाचन कार्यालय तथा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै निष्पक्ष निर्वाचन सुनिश्चित गर्न माग गरेका छन्।
विद्यार्थी संगठनहरूका अनुसार क्याम्पस प्रमुख सञ्जय चौधरी ले पूर्वाग्रही निर्णय लिँदै उम्मेदवारहरूलाई मनोनयन पत्र नदिएर निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास गरिरहेका छन्।
संयुक्त विद्यार्थी संगठनका प्रतिनिधिहरूले भने, “विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कार्य सह्य छैन। जबसम्म निष्पक्ष निर्वाचनको ग्यारेन्टी हुँदैन, हाम्रो आन्दोलन जारी रहनेछ।”
तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक कार्य ठप्प भएका छन् भने विद्यार्थीहरू अन्योलमा परेका छन्। स्थिति समाधान गर्न विद्यार्थी संगठन, क्याम्पस प्रशासन र सम्बन्धित निकायहरूबीच वार्ता हुने अपेक्षा गरिएको छ।