विजय साह
लहान / वीरगञ्जमा सम्पन्न नेपाल अर्थोपैडिक संघको सम्मेलनमा प्रोफेसर डा. पशुपति चौधरी लाई प्रतिष्ठित ‘अशुमा अवार्ड’ प्रदान गरिएको छ। लामो समयदेखि अर्थोपेडिक चिकित्सा क्षेत्रमा अतुलनीय योगदान दिँदै आएका डा. चौधरीलाई संघका पदाधिकारीहरूले सम्मानका साथ अवार्ड प्रदान गरेका हुन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लाखौँ बिरामीको उपचार र हजारौँ सफल शल्यक्रिया गरेका डा. चौधरी चिकित्सा क्षेत्रमा एक सफल एवं चर्चित व्यक्तित्व हुन्। यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई पटक विभूषित भइसकेका उनी दर्जनौँ प्रतिष्ठित अवार्डहरू प्राप्त गर्ने सौभाग्यशाली चिकित्सक मध्ये एक हुन्।
अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्—
“अवार्ड पाउनलाई त काम गरिने होइन, तर काम गर्दै गएपछि मान्यता अवश्य पाइन्छ। आफ्नै अर्थोपेडिक समुदायबाट यो सम्मान पाउँदा गौरवान्वित महसुस गरेको छु।”
हाल प्रोफेसर डा. चौधरी मधेस प्रदेशको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजविराजमा अध्यक्ष पदमा कार्यरत रहँदै सेवा प्रदान गरिरहेका छन्।





