राशिन्द्र यादव
सप्तरी / सुरुंगा नगरपालिकामा प्रथम माँ मुसहरनिया खुल्ला महिला भलिवल नकआउट प्रतियोगिता २०८१ भव्य रूपमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह एमएमसी क्लबका संयोजक आनन्द प्रसाद चौधरीको अध्यक्षता तथा सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रादेशिक भलिवल टिम, दमक (झापा) र एभरेस्ट स्पोर्ट्स एकेडेमी, सर्लाही आमनेसामने भएका थिए। घमासान प्रतिस्पर्धापछि कोशी प्रादेशिक टिमले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।
विशेष अतिथिहरूको उपस्थिति
समारोहमा सुरुंगा नगरपालिकाका पूर्व मेयर मुक्तिनाथ चौधरी, उपमेयर रुद्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल पासमान, नगर प्रवक्ता शिवदर्शन पासमान तथा नगरका इन्जिनियर इन्द्र प्रसाद चौधरी उपस्थित थिए। साथै, नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, प्रहरी चौकी धातीका इन्चार्ज, सशस्त्र क्याम्प कुसहाका प्रमुख तथा वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
खेलाडीहरूको उत्कृष्ट प्रदर्शन
खेलमा सहभागी दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे। विशेष गरी एभरेस्ट स्पोर्ट्स एकेडेमी, सर्लाही ले निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो। तर, अन्तिम सेटमा कोशी प्रादेशिक टिम ले निर्णायक अग्रता लिएर खेल आफ्नो पक्षमा पार्न सफल भयो।
“प्लेयर अफ द म्याच” नेहा कुमारी चौधरी सम्मानित
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एभरेस्ट स्पोर्ट्स एकेडेमीकी खेलाडी नेहा कुमारी चौधरी लाई “प्लेयर अफ द म्याच” को उपाधि प्रदान गरियो। उनलाई सम्मान गर्दै नगर प्रमुख गीता चौधरी ले प्रशंसास्वरूप नगद पुरस्कार समेत प्रदान गरिन् ।
उनले भनिन्, “महिलाहरू खेलकुदमा पुरुषसरह सक्षम छन् भन्ने यो प्रतियोगिताले प्रमाणित गरेको छ आगामी दिनमा पनि खेलाडीहरूलाई थप प्रोत्साहन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।”
स्थानीय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई थप हौसला प्रदान गरेको छ। नगरपालिकाको सहकार्यमा आयोजना भएका यस्ता कार्यक्रमहरूले युवा वर्गलाई खेलकुदप्रति आकर्षित गर्ने र महिला खेलाडीहरूको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





