लहान /  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौं साधारण सभामा चार जना पत्रकारहरू सम्मानित भएका छन् ।

बाराको कोहल्वीमा सम्पन्न सभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको समावेशीतासम्बन्धी प्रावधानको उचित प्रयोग नभएको टिप्पणी गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले संविधान बनेपछि पनि देश पुरानै शैलीमा फर्किएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पूर्ण समावेशीता सम्भव भएको छैन।” साथै, उहाँले जनजाति समुदायका मुद्दा पर्याप्त रूपमा उठ्न नसकेको र नेताहरूको इमानदारितामा प्रश्न उठाउँदै नेताले विश्वास तोडेको आरोप लगाउनुभयो।

उहाँले संविधानले निर्दिष्ट गरेका मुख्य बुँदालाई उपेक्षा गर्दै कानुन निर्माणमा ध्यान केन्द्रित गरिएकाले समावेशीता लागू हुन नसकेको तर्क गर्नुभयो। समाजमा इमानदार व्यक्ति उपेक्षित भइरहेका र बेइमानहरू प्रतिष्ठित भइरहेका प्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो।

मधेश प्रदेशकी सांसद मन्जु थापामगरले पत्रकारिताले सत्यतथ्य बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले फोनिजलाई अझ सशक्त बनाउन नीतिगत निर्णय आवश्यक रहेको उल्लेख गर्नुभयो।

फोनिजका उपाध्यक्ष तथा रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक अमरध्वज लामाले आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो। फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले समतामूलक समाज निर्माणका लागि समावेशीताको पूर्ण पालना गर्न आवश्यक रहेको बताउँदै संस्थाले सही दिशा लिनुपर्नेमा जोड दिनुभयो।

चार पत्रकार सम्मानित

कार्यक्रमका दौरान पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएका चार जना पत्रकारहरूलाई सम्मान गरिएको थियो।

देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार – सत्यप्रसाद श्रेष्ठ (रासस, बारा) र रिना आले (सामुदायिक रेडियो, सर्लाही)

क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार – लक्ष्मी चौधरी (गोरखापत्र दैनिक, जनकपुरधाम) र डम्बर राई (पूर्वेली दृष्टि साप्ताहिक, पब्लिक प्रेस दैनिक, सप्तरी)

पुरस्कृत पत्रकारहरूलाई १० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको फोनिज मधेश प्रदेशका महासचिव बृजमान तामाङले जानकारी दिनुभयो।

फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीका अनुसार मधेश प्रदेशका आठ जिल्लाबाट ६० जनाभन्दा बढी पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका फोनिज सदस्यहरू तथा विभिन्न पत्रकार संघ–संस्थाका प्रतिनिधिहरू रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय