राेयाण्टर मण्डल
लहान / सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकु सदायको मृत्यु प्रकरणमा अनुसन्धान अघि बढ्दै जाँदा घटनालाई ढाकछोप गर्न खोज्नेहरू समेत पक्राउ परेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाका अनुसार, पीडित परिवारलाई दबाब दिएर घटना मिलाउन खोज्ने ८ जनालाई नियन्त्रणमा लिइएको छ। ती व्यक्तिहरू पञ्चायतमा संलग्न रहेको खुल्न आएको छ।
बलात्कारपछि मृत्यु, तर दबाबको खेल
गत माघ २७ गते शौच गर्न गएकी रिंकुलाई तीन युवाले अपहरण गरी बलात्कार गरेको खुलेको छ। बलात्कारपछि अचेत अवस्थामा उनलाई घर ल्याइएको थियो। तर, माघ ३० गते बिहान उनी झुण्डिएको अवस्थामा मृत भेटिइन्। सुरुआती अनुसन्धानमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिए पनि, घटना सामूहिक बलात्कारको भएको प्रमाणहरू सार्वजनिक भएपछि प्रहरी प्रशासनले नयाँ छानबिन समिति गठन गरेको थियो।
पञ्चायत बसेर घटना मिलाउन खोजियो
पीडित परिवारलाई दबाब दिई घटनालाई दबाउने प्रयासस्वरूप गाउँमा पञ्चायत बसेको खुलेको छ। पञ्चायतका सहभागीहरूले रकमको लेनदेन गर्दै घटनालाई लुकाउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यदि आर्थिक लेनदेनको प्रमाण भेटिए, उनीहरूलाई समेत कारबाही गरिने एसएसपी कोइरालाले बताए।
पूरक जाहेरी, तर मुख्य आरोपी अझै पक्राउ परेनन्
पीडित परिवारले तीनजना बलात्कार आरोपी तथा पाँचजना पञ्चायतमा संलग्नलाई कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र मिलापत्रको दबाब दिएको आरोपमा पूरक जाहेरी दर्ता गराएका छन्। तर, पूरक जाहेरीमा उल्लेखित कोही पनि अहिलेसम्म पक्राउ परिसकेका छैनन्।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।






