नयाँ दिल्ली / दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने– ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ ।’
केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु । र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन् । जनताले दिएको अवसरमा हामीले विगत दश वर्षमा धेरै काम गर्यौँ, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा । हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ ।’
उनले थपे, ‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र खेल्ने छैनौँ, समाजसेवा पनि गर्नेछौँ, जनताको सुख – दुःखमा सहयोग गर्नेछौँ । व्यक्तिगत रूपमा हाम्रो आवश्यकता पर्ने जो कोहीलाई पनि सहयोग गर्नेछौँ । किनकि हामी सत्ताको लागि राजनीतिमा आएका होइनौँ। हामी राजनीतिलाई एउटा माध्यम मान्दछौँ जसको माध्यमबाट हामी जनताको सेवा गर्न सक्छौँ र जनताको सुख दुःखमा सहयोग गर्न सक्छौँ ।’






