मनिषा मण्डल
सिरहा / आज कार्तिक २३ गते शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको सिरहा , माेहत्तरी, धनुषा, सप्तरी, सुनसरी, मोरंग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशका विभिन्न ठाउँमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न गरिएको छ । छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलवार व्रतालुले नहाय खाय अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधवार खरना मनाएका थिए । खरनाका दिन व्रतालुहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाएका थिए ।