मनिषा मण्डल
सुखीपुर ( सिरहा) / मिथिलाञ्चलवासीको महान् पर्व छठ उत्सव अन्तर्गत आज बुधवार धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत नेपाल भारतका मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ ।
छठ पर्व विभिन्न पोखरी, तलाउ तथा सिरहा जिल्लाको प्रसिद्ध नदीहरु बलान, सिरहाका सलहेश पाेखरी, सुखीपुरका रामजानकी पाेखरी, गागैन खाेला, बाबुराम नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै आएको छ ।
सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मङ्गलबार व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ अर्थात् जीउ चोख्याउने काम गरेका छन् ।
त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइँदैछ । खर्ना आजका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन खानेकुरा खाने चलन छ ।
त्यस्तै षष्ठीका दिन अर्थात् (बिहीबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।
त्यस्तै त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् । महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञात वासमा रहँदा उक्त गुप्ता वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।