
सर्लाही । सर्लाही प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३७ लाख रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो प्रहरी निरीक्षक सविन कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडक खण्डमा २४ वर्षीय कमर राजालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त रकम फेला परेको हो। कालो रङको झोला पिठ्यूँमा बोकी हिँड्दै आएको अवस्थामा जाँच गर्दा १ हजार दरको १० लाख रुपैयाँ र बैंकको २ वटा ९ लाख ९० हजार दरको चेक फेला परेको थियो ।
प्रहरीको बयानमा राजाले रकम आरिफ अन्सारीले सञ्चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बताएका थिए। त्यसपछि प्रहरीले मोबाइल पसलमा पुगेर खान तलासी गरेको थियो ।
पसलभित्र कपडाको झोलामा लुकाई राखेको थप २७ लाख ७५ हजार रुपैयाँ फेला परेको छ। प्रहरीले अन्सारीलाई पनि नियन्त्रणमा लिएको छ।
सभार: मधेशपाटी