मिथिलेश यादव
लाहान  १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

रञ्जनाको पढाइ खर्च र परिवारको गुजारा खुट्टी खोलाले धानिदिएको छ। रञ्जना गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा पढ्छिन्। खुस्बु परिवारको जीविकोपार्जन गिटी चालेर चल्दै आएको छ।

एक दशकदेखि खुस्बुले पतिसहित यसै खोलामा गिटी चालेर गुजारा चलाउँदै आएकी छन्। आर्थिक अवस्था कमजोर भएकैले उनी गुजारा चलाउन गिटी चाल्न बाध्य भएकी हुन्

पहिला गाउँघरमै ज्यालामा काम गरी गुजारा चल्थ्यो। छोरी जन्मेपछि खर्च बढ्यो,’ खुस्बुले भनिन्, ‘ज्यालामा काम गर्दा कमाइ कम हुन्थ्यो, खोलामा गिटी–बालुवा चाल्दा त्योभन्दा बढी आम्दानी हुन थालेपछि बुढाबुढी यही खोलामा धाउन थाल्यौं।’

उनका अनुसार ज्यालामा काम गर्दा दिनको ६०० रुपैयाँ कमाइ हुन्थ्यो। त्यसले गुजारा चलाउन हम्मे परेपछि गिटी चाल्न थालेको उनले बताइन्। ‘भरदिनमा एक ट्रिप गिटी चाल्दा १ हजार रुपैयाँ कमाइ हुँदा गुजारामा भरथेग भएको छ,’ खुस्बुले भनिन्, ‘यही कमाइले छोरीको लालनपालन, पढाइलेखाइ पनि चलेको छ, यो खोला नै अहिले हाम्रो सम्पत्ति बनेको छ ।’

खुस्बुजस्तै तटीय क्षेत्र वरिपरिका बानो, झुटकी, गुदिगाउँ, विष्णुपुर, भदैया, बस्तीपुर, शोभापुर, गोविन्दपुरलगायत दर्जनभन्दा बढी गाउँका विपन्न, भूमिहीन दलित परिवारले खुट्टी खोलामा गिटी चालेर जीवन धान्दै आएका छन्।आर्थिक अवस्था कमजोर भएका सयभन्दा बढी दलित विपन्न परिवारको मुख्य आयस्रोत बनेको छ– खुट्टी खोला।

खोलामा झिसमिसेमै गिटी, बालुवा चाल्नेको मेलाजस्तै लाग्छ। ‘वर्षौंसम्म गिरहत (मालिक) को घरमा मजदुरी गरे पनि छाक टार्न समस्या हुन्थ्यो’, बानोकी राधा सदायले भनिन्, ‘यो खोलाले हाम्रो परिवारलाई भरथेग दिएको छ। चारजनाको परिवार खोलामा गिटी चालेर चलेको छ।’

आफ्नो ६ जनाको परिवार गिटी चालेरै गुजारा चलाएको माइली सदायले सुनाइन्। एक्लैको कमाइले घर चलाउन समस्या परेपछि पतिले पनि गिटी चाल्न थालेको उनले बताइन्। माइलीले एक ट्रिप गिटी एक हजार रुपैयाँमा बिक्री गर्छिन्।

सिरहाका खुट्टीखोला, बलान, गागन, घुर्मी, कमला नदी क्षेत्रबाट ठेकेदारले पनि गिटी, बालुवा निकालेर निकासी गर्छन्।

गिटी चालेर यस भेगका सुकुमबासी तथा विपन्न परिवारको गुजारा चलेको छ। भूमिहीन सुकुमबासी दलित तथा विपन्न परिवारको रोजगारीको माध्यम नै यी खोलाको गिटी, बालुवा बनेको छ।

पछिल्लो समय खोलाहरूमा ठेकेदारले एक्स्काभेटर प्रयोग गर्न थालेपछि उनीहरू चिन्ति बनेका छन्। ठेकेदारले खोला ठेक्कामा लिँदा यस भेगका विपन्नहरू रोजगारी गुम्ने चिन्तामा छन्।

सभार – नागरिक पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर