सर्लाही / सर्लाहीसहित तराई क्षेत्रमा सुक्खापन बढेसँगै दिउँसोपख तीव्र गतिमा दूषित हावा बहन थालेको छ।
हावा चल्न थालेपछि झनै सुक्खापन बढेर बाहिरी वातावरण उजाडिदै जान थालेको स्थानीयले बताएका छन्। दूषित हावाको साथमा अत्यधिक धुलो उड्न थालेकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
नगर अस्पताल लालबन्दीका इन्चार्ज डा. रामविश्वास रायले दूषित हावा बहन थालेर मौसम परिवर्तन भइरहँदा ज्वरो, रुघाखोकी, अपच जस्ता सङ्क्रमणका विरामी दिनहुँ बढिरहेका जानकारी दिनुभयो। डा. रायले जति दूषित हावा चल्न थाल्यो, उति नै मानिसमा स्वास्थ्य समस्या बढ्ने बताउनुभयो ।
उहाँले यो मौसममा घरबाहिर निस्कँदा मास्क लगाउन, बाहिरी खानेकुरा सकभर नखान, पर्याप्त पानी पिउन र स्वस्थ रहने उपाय अपनाउन सुझाव दिनुभएको छ। तीव्र गतिमा हावाहुरी चलेसँगै विशेष गरी सिँचाइ सुविधा नरहेको उत्तरी चुरे भेगका बस्ती र खेतीयोग्य फाँट निकै उजाड देखिएका छन् ।
यहाँका वन क्षेत्रमा डढेलो फैलँदै गइरहेको छ। धेरै जसो वन क्षेत्रमा डढेलो लागेर ससाना बोटविरुवा जलेर सखाप भइसकेका छन् । डढेलोका कारण प्रदूषण थप बढ्दो छ। सुक्खापन बढेर किसानलाई जनावर पाल्न समस्या परेको छ ।
लालबन्दी नगरपालिका-११ का किसान वीरबहादुर थिङले वनमा डढेलो लागिसकेको र खेतवारी पनि सुक्खा भएर हरियो घाँसपात केही नरहेकाले वस्तुभाउ पाल्न मुस्किल परेको बताउनुभयो। उहाँले सिँचाइ सुविधा नरहेको आफूहरूको क्षेत्रमा कुनै हरिया घाँसपात लगाउन नपाइने भएकाले चैतदेखि असार/साउनसम्म वस्तुभाउ जोगाउन सारै गाह्रो पर्ने गरेको गुनासो गर्नुभयो।
– गाेरखापत्र दैनिक