अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) सचिवन्द्रकुमार देवमाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कालोपत्रे सडक निर्माणमा अनियमितता गरेको ठहर गर्दै अख्यिारले मंगलबार विशेष अदालत काठमाडौंमा सिडिइ देवसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सिडिइ देवसहित तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र निर्माण कम्पनी गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डल विरूद्ध मुद्दा दायर भएको जानकारी दिएका छन्।

अख्तियारको अनुसन्धानमा कम काम गरी बढी काम गरेको भनी निर्माण व्यवसायीलाई ३ लाख ४७ हजार बढी भुक्तानी दिएको पाइएको घिमिरेले बताए।

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–४ मधुवापुरअन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३ सय मिटर दूरीमा कालोपत्रे सडक निर्माणमा अनियमितता भएका पाइएपछि उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।

अख्तियारले सिडिइ देव, इन्जिनियर राय र सवइन्जिनियर रायसँग जनही ३ लाख ४७ हजार विगो असुल उपर हुन एवं कैद सजाय तथा जरिवानाको मागदाबी गरेको छ।

त्यस्तै निर्माण व्यवसायी मण्डलले योजनाको कार्य सम्पन्न भएको भनी ठेक्का बिल, बिल भरपाइ लगायतका कागजात पेस गरेको तर शर्त एवं सर्त एवं सम्झौताबमोजिम कार्य नगरी भए गरेकोभन्दा बढी कार्य गरेको भनी बढी मूल्यांकन गराइ ३ लाख ४७ बढी भुक्तानी लिने कार्य गरेको अख्तियारले जनाएको छ।

मण्डलविरूद्ध ३ लाख ४७ हजार बिगो कायम गरी बिगोसमेत जफत हुन मागदाबी अख्तियारले लिएको छ।

– डिएच खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय