काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो नेतृत्वमा अलग्गै पार्टी बनाउन कार्यकर्ता प्रशिक्षण भेलाको आयोजन गर्ने भएका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरको निर्णयहरुप्रति असन्तुष्टि जनाउँदै उनी पार्टी छोड्ने चरणमा पुगेको उनी निकटका नेताहरुले बताएका छन् ।

महतो निकट नेताहरुका अनुसार उनले काठमाडौंमा आज राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानको घोषणा गर्दैछन् । यो अभियान सुरु गरेर नेता कार्यकर्ता बटुल्ने र पछि पार्टीको रुप दिने महतोको योजना छ । लोसपाका सहमहासचिव सन्तोष मेहताले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महतोले राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने बताए ।

‘राष्ट्रिय मुक्ति क्रान्ति : बहुल राष्ट्रिय राज्य स्थापनाको निमित्त आहृवान’ भनेर उनले अवधारणापत्र प्रस्तुत गर्नेछन् । महतो र आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानले संयुक्त रुपमा तयार पारेको अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । स्व-देशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको अवधारणामा अभियान थाल्ने दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उल्लेख छ ‘नेपालका बहुलराष्ट्रहरु नै वर्तमान नेपाल राज्यको अस्तित्व हो’ । फरक-फरक राष्ट्रियताहरुको सहअस्तित्वले बहुल राष्ट्रिय राज्य बन्ने व्याख्या दस्तावेजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर