सिरहा / सिरहा जिल्लामा दुई चरणमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। पहिलो चरणमा फाल्गुन १३ देखि १७ गतेसम्म र दोस्रो चरणमा फाल्गुन २१ देखि २५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ। दादुरा रुबेला खोप अभियान सञ्चालन हुने विषयमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले ९ महिनादेखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाइने बताए । उनले अन्धविश्वासमा नपरी खोप लिन पनि आग्रह गरे।
खोप सञ्चालनका लागि जिल्लाभरमा ४६५ वटा खोपकेन्द्र तोकिएको छ। संस्थागत विद्यालय, सामुदायिक विद्यालय, विद्यालय नभएको स्थानमा वडा, वस्ती र टोलहरुमा, नियमित खोप सेवा सञ्चालन भइरहेको स्थानमा र विगतमा खोप अभियान सञ्चालन गरिएको खोप केन्द्रहरुमा गएर खोप लगाउन सकिनेछ। सिरहाका जिल्लाका करिब २ लाख १० हजार ३७६ बालबालिकालाई खोप लगाउने अनुमान छ। एउटा
खोप केन्द्रमा २ स्वास्थ्यकर्मी र ३ भोलेन्टियर परिचालित हुनेछन्। स्वास्थ्य कार्यालयका प्रमुख यादवले भनेका छन्, ‘खोप लिएपछि कसै कसैलाई सामान्य समस्या देखिन सक्छ। त्यो समस्या आत्तिने होइन्।’ समस्या देखिएका व्यक्तिलाई तत्कालै उपचारका लागि सम्बन्धित ठाउमा लगिन हरेक खोप केन्द्रमा एम्बुलेन्स स्ट् याण्डबाइ राखिने उनको भनाई छ। दादुरा रुबेला खोप लगाएर दादुरा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी रोक संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने र पांच वर्ष मुनीका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरी छुटेको नियमित खोपको मात्रा
लगाउन सहजिकरण गर्ने खोप अभियानको लक्ष्य रहेको छ।
– टुडे खाेज