
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम,जनता टुडे ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० को आयोजनामा तीनदिने जिल्लास्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ। आर्थिक वर्ष २०८३/०८४ को युवा क्षमता विकास कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा ९ वर्षदेखि ६१ वर्ष उमेर समूहका २५ जना खेलाडी सहभागी भएका छन्।
प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको छ। उमेरको सीमाभन्दा माथि उठेर बौद्धिक खेलप्रति देखिएको आकर्षणले प्रतियोगितालाई थप रोचक बनाएको छ।
कार्यक्रमको अध्यक्षता मिथिलेश कुमार कर्णले गर्नुभएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे प्रमुख अतिथि तथा राजु ताम्राकार विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।कार्यकाम संचालन हेतु सहजीकरण पूर्व वडा सचिव तथा महिला अधिकारकर्मी जमुना भुजेलले गर्नु भएकाे थियाे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। जसअनुसार प्रथम हुनेले ८ हजार रुपैयाँ, द्वितीय हुनेले ५ हजार रुपैयाँ, तृतीय हुनेले ४ हजार रुपैयाँ, चौथो हुनेले ३ हजार रुपैयाँ तथा पाँचौँ स्थान हासिल गर्ने खेलाडीले २ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्।
वडा कार्यालयको परिसरमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवाहरूको बौद्धिक क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





