दिपक श्रेष्ठ मण्डल

जनता टुडे | मंसिर १२

जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीमा आयोजित टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक क्षेत्रकै टोली जनकपुरधाम–१७ कनकपट्टीले जितेको छ। फाइनल खेलमा शान्तिपुरलाई ५९ रनको फराकिलो अन्तरले पराजित गर्दै कनकपट्टीले उपाधिमाथि कब्जा जमाएको हो।

फाइनल खेलमा टस जितेको शान्तिपुरले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको कनकपट्टीको टोलीले निर्धारित खेलमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। ११५ रनको लक्ष्य पछ्याएको शान्तिपुरले लक्ष्य भेट्टाउन नसकेपछि कनकपट्टी ५९ रनले विजयी हुँदै प्रतियोगिताको च्याम्पियन बनेको हो।

प्रतियोगितामा विजेता कनकपट्टी टोलीले नगद ५० हजार ५५५ रुपैयाँसहित कप तथा मेडल प्राप्त गरेको छ। त्यसैगरी उपविजेता शान्तिपुर टोलीले नगद २५ हजार ५५५ रुपैयाँसहित कप तथा मेडल हात पारेको छ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ नितेश यादव प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (Player of the Series) घोषित भएका छन्। उत्कृष्ट बलिङ प्रदर्शन गरेका उनले उत्कृष्ट बलर (Best Bowler) को उपाधिसमेत प्राप्त गरे। त्यस्तै, फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिपजल श्रेष्ठ म्यान अफ द म्याच (Man of the Match) घोषित भएका छन्।

रामकिशोर ठाकुर सञ्चालक रहेको ऋषि टुर एन्ड ट्राभल्स, कदमचोक, जनकपुरधाम तथा श्री सरस्वती क्रिकेट टिमको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताको समापन कार्यक्रममा अजय यादव र महेश साह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

स्थानीयस्तरमा क्रिकेट खेलको विकास, युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रका खेलप्रेमीहरूमा उत्साह थपेको छ।

प्रतियोगिताको सफल समापनसँगै कनकपट्टीको टोलीले घरेलु मैदानमा उपाधि जितेर आफ्नो क्षेत्रको गौरव बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय