
दिपक श्रेष्ठ मण्डल
जनता टुडे , मंसिर ५।
श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकपुरधाम–९, धनुषाको २५औँ वार्षिक साधारण सभा शनिबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मनोज कुमार महतोको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष राम बदल शाह प्रमुख अतिथि थिए। सभामा संस्थापक सदस्य एवं पूर्वअध्यक्ष चन्देश्वर प्रसाद रौनियार, पूर्वअध्यक्ष राधा प्रसाद यादव, पूर्वउपाध्यक्ष बुधन साह, राम चरित्र ठाकुर, पूर्वकोषाध्यक्ष वैद्यनाथ साह, पूर्वसञ्चालक अरुण कुमार गुप्ता र प्रमोद नारायण झासहितका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गान र सहिदहरूको सम्झनामा एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष नवीन कुमार साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले नियमित बचतलाई सहकारीको मुख्य आधार बताउँदै तरलता व्यवस्थापन, खराब कर्जा असुली, पारदर्शिता र सदस्यको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखिएको बताए। उनले कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको, संस्थाको वेबसाइट सञ्चालनमा ल्याइएको तथा सदस्यका लागि तीर्थाटन, शैक्षिक भ्रमण र स्वास्थ्य तथा शैक्षिक सेवामा विशेष छुटका कार्यक्रम अघि बढाइने जानकारी दिए।
प्रमुख अतिथि शाहले सहकारीको २५ वर्षे यात्रा संस्थापकहरूको योगदान, शेयर सदस्यको विश्वास र सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरे।
कार्यक्रममा संस्थाकी व्यवस्थापक प्रियंका नायकको पनि उपस्थिति रहेको थियो। उनले संस्थाको दैनिक व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक कार्यमा कर्मचारीहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै सदस्यहरूलाई गुणस्तरीय, सहज र पारदर्शी सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन्।
सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी, पत्रकार तथा ठूलो संख्यामा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।
सभाले संस्थागत सुशासन, पारदर्शिता र सदस्यको आर्थिक हितलाई प्राथमिकता दिँदै सहकारीको दिगो विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।





