मनिषा मण्डल
सुखीपुर (सिरहा) / प्रधानमन्त्री पदमा बालेन शाहले शपथ ग्रहण गरेको ऐतिहासिक अवसरलाई विशेष बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले सुखीपुर बजार क्षेत्रमा व्यापक सरसफाइ तथा दी प्रज्वल कार्यक्रम सम्पन्न गरेका छन् ।
नयाँ नेतृत्वप्रतिको शुभकामना र परिवर्तन प्रतिको आशा व्यक्त गर्दै स्थानीयस्तरमै सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको कार्यक्रम आयोजकले बताए ।
शुक्रबार बिहानैदेखि सुरु भएको सरसफाइ अभियानमा पार्टीका स्थानीय नेता, युवा तथा स्वयंसेवकहरू सहभागी बनेका थिए । झन्डै तीन घण्टा निरन्तर सञ्चालित अभियानअन्तर्गत बजारका मुख्य सडक, चोक, पार्किङ क्षेत्र तथा सार्वजनिक स्थलमा झाडु लगाउँदै फोहोर सङ्कलन गरिएको थियो ।

रास्वपाका स्थानीय नेता चन्द्र शेखर दासका अनुसार “स्वच्छ बजार–समृद्ध समाज” भन्ने नारासहित सञ्चालन गरिएको अभियानले स्थानीयमा उत्साह र सकारात्मक ऊर्जा जगाएको छ ।
उनले भने, “बालेन सरकारले देशभर सफाइ, सुशासन र सुधारको लहर ल्याउने छन् । हामीले त्यसैको प्रेरणा लिएर स्थानीयस्तरमै योगदान दिन सरसफाइ कार्यक्रम गरेका हौं ।”
यस्ता अभियान पहिले पनि सुखीपुर बजारमा विभिन्न सामाजिक र राजनीतिक समूहले सञ्चालन गरे पनि प्रधानमन्त्रीको शपथग्रहणकै दिनमा पहिलोपटक यस्तो विशेष कार्यक्रम भएको स्थानीय बासिन्दाहरूले बताए ।
सरसफाइमा सहभागीहरूले बजारका व्यवसायी तथा स्थानीयवासीलाई नियमित फोहोर व्यवस्थापनमा जिम्मेवार बन्न आग्रह गरे ।
सरसफाइ कार्यक्रम पछि कार्यकर्ताहरूले सुखीपुर नगरपालिका–८ राजदेवी चोक स्थित पार्टी कार्यालयमा दीप प्रज्ज्वलन तथा प्रसाद वितरण कार्यक्रम समेत आयोजना गरेका थिए ।

सहभागीहरूले दीप प्रज्ज्वलन मार्फत देशमा सुशासन, पारदर्शिता र स्थायी परिवर्तनको कामना गरेका थिए ।






