मनिषा मण्डल
सुखीपुर (सिरहा) / अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी आज साँझ सिरहाकाे सुखीपुर सहित मिथिला अञ्चलमा चैती छठ मनाइँदै छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका सिरहा, सप्तरी, धनुषा, रौतहट, सर्लाहि, बारा, पर्सा, महोत्तरी मिथिला अञ्चल भरि धूमधामका साथ मनाइँदै छ ।
छठ पर्व सिरहा सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित राम जानकी पाेखरीमा चैती छठ महाेत्सवका रुपमा मनाईदै आएकाे छ भने मिथिला अञ्चलकाे ग्रामीण क्षेत्र एवम् सहरी क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा नहरको किनारमा अघ्र्य दिएकाे छ ।
सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् ।
सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । यस अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आईतवार व्रतालुहरूले ‘नहाय खाय’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् ।

त्यस्तै पर्वको दोस्रो दिन साेमवार खरना मनाइएको थियो । खरनाको दिन व्रतालुहरूले दिनभरि उपवास निराहार बसेर राति छठी मातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (विना नुन हालेका) खानेकुरा खाएका थिए ।
त्यस्तै तेस्रो दिन मंगलबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, पुडुकीया, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन् ।
अन्तिम दिन भोलि अर्थात् बुधवार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोयाइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न हुनेछन् ।
सुखीपुरमा विगत भन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्या वृद्धिसँगै कात्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाएको हो ।

सुखीपुरमा मनाउने चैती छठमा सुन्दर वनके सुन्दर फूल लाेक नाच, चिया स्टल, लसी स्टल, सरबत स्थल, फूर्टी स्थल, पानी स्टल , नयाँ वर्ष २०८३ काे क्यालेन्डर लगायतमा नि:शुल्क वितरण भएकाे सुखीपुर चैती छठ महाेत्सव समितिका अध्यक्ष महेश कुमार साहले बताउनु भयाे ।
सुखीपुरमा मनाईने छठ पर्व जनकपुर पछिकाे दाेस्राे सुखीपुरमा धुमधामका साथ मनाउने गरेकाे महाेत्सव समितिका सचिव ओम प्रकाश गुप्ताले दावी गर्नुभयाे ।
शुद्धता र आपसी सदभावको रूपमा चैती छठ पर्व मनाउनका लागि ब्रतालु तैयारीमा जुटेका छन् ।
छठ पर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा छठ पर्व मनाउँदै आइरहेको तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको बिज्ञहरु बताउछन ।






