राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्लाको सुखीपुर नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपीभी खोप अभियान २०८२ सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिति एकदिने अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रम सुखीपुर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाको सभाहलमा नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चन्देश्वर यादवले पाठेघरको मुखको क्यान्सरको स्थिति, एचपीभी खोपको प्रभावकारिता र अभियानको आवश्यकता बारे विस्तृत जानकारी दिनुभयाे ।
वहाँका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने १०–१४ वर्ष उमेर समूहका सबै किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ । पाठेघरको मुखको क्यान्सर निवारणमा यो खोप प्रभावकारी रहेको भन्दै अभियानको मुख्य उद्देश्य रहेकाे छ ।
स्वास्थ्य शाखा उपप्रमुख अन्देश्वर मण्डलका अनुसार सुखीपुर नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका कुल ५ सय ५५ जना छात्रालाई खोप दिने लक्ष्य रहेकाे छ ।
खोप कार्यक्रम फागुन ४ देखि १० गतेसम्म, नगरका ३० वटा खोप केन्द्रमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूद्वारा सञ्चालन गरिनेछ ।
वहाँले एचपीभी खोप एकपटक लगाएपछि जीवनभर लगाउनु नपर्ने भएकाले सबै अभिभावक, विद्यालय तथा समुदायलाई लक्षित सबै किशोरीहरूको खोप सुनिश्चित गर्न आग्रह गरे ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, प्रमुख (निमित्त) प्रशासकीय अधिकृत शिव दयाल यादव, स्वास्थ्य कार्यालय सिरहाकी सुनिता कडेल, WHO-IPD का सडला न्यौपाने, नगरभरका विद्यालयका प्रधानाध्यापक, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।






