राजेश विद्रोही
नेपालमा संस्थागत राजनीतिको सुरुवात भएको दिनदेखि नै त्यसको विरोध र विकल्प खोज्ने क्रम पनि सँगसँगै सुरु भयो । यसको मुख्य कारण आन्दोलन र परिवर्तनको जगबाट जन्मिएका दल र नेतृत्वहरूले आफ्ना नेता–कार्यकर्ता तथा संगठनको उचित व्यवस्थापन गर्न नसक्नु हो । जनताको अपेक्षा, आवश्यकता र आकांक्षाअनुसार राज्य संयन्त्र सञ्चालन हुन नसक्दा नै असन्तुष्टि जन्मिएको हो ।
मानिसका आवश्यकता असीमित हुन्छन्, तर तिनलाई पूरा गर्ने स्रोत–साधन सीमित हुन्छन् । ती सीमित स्रोत–साधन न्यायोचित रूपमा वितरण नहुँदा वा नगर्दा असन्तुष्टि पैदा हुन्छ । यसलाई स्वाभाविक र अस्वाभाविक दुवै रूपमा बुझ्न र विश्लेषण गर्न सकिन्छ । किनभने जब नेतृत्वले सीमित स्रोत–साधनमाथि एकाधिकार जमाउन खोज्छ र स्वेच्छाचारी प्रवृत्ति देखाउँछ र प्रदर्शन गर्छन्, हेलाहोचो, लाखापाखा, भेदभाव, आसेपासे पोस्ने, नातागोता र परिवारवाद मौलाउँछन् । त्यसपछि असन्तुष्टिहरू संगठित हुन थाल्छन् र अन्ततः विद्रोहको बाटो समात्छन् ।
नेपालको राजनीतिक इतिहासले देखाएको तथ्य के हो भने असन्तुष्टि बारम्बार पैदा भयो । तर त्यसबाट जन्मिने वैकल्पिक राजनीति बारम्बार असफल भयो । संस्थापन पक्ष भने निरन्तर राज्य सञ्चालनको बागडोर सम्हालिरह्यो । यही सफलता र असफलताले आज वैकल्पिक राजनीतिमा असन्तुष्टिहरुको भिड भन्ने यथार्थ जन्माएको हो । असन्तुष्टि आफैंमा अवसरको भोक हो । तर असन्तुष्टिलाई विचार, नीति र संगठनमा रूपान्तरण गर्न नसक्दा त्यो अवरवादी भीडमै सीमित हुन्छ ।
नेपालमा वैकल्पिक राजनीतिका नाममा देखिएका अधिकांश प्रयास यही कमजोरीका सिकार भए । उनीहरू राज्यसत्ता सञ्चालनको विकल्प बन्नुभन्दा पनि सत्ता र नेतृत्वविरुद्धको आक्रोश व्यक्त गर्ने माध्यममा सीमित रहे । परिणामतः असन्तुष्टिहरू राजनीतिक शक्ति बन्नुको सट्टा अस्थायी अवरवादी झुन्डमा सीमित भए । किनभने नियत र नियतिजन्य समस्यालाई किनारा लगाउनु निकै गाह्रो र चुनौतीपूर्ण हुन्छ ।
वैकल्पिक राजनीति भन्नाले केवल पुराना दल र नेतृत्वहरूको आलोचना गर्नु मात्र होइन । विकल्प भनेको फरक विचार, दर्शन र दृष्टि, फरक कार्यशैली र फरक परिणाम दिन सक्ने राजनीतिक ल्याकत प्रदर्शन गर्नु हो । सही विकल्पबिनाको विरोधको कुनै अर्थ हुँदैन । तर नेपालमा वैकल्पिक राजनीति प्रायः पुराना सबै खराब, नयाँ सबै जायज भन्ने निष्कर्षमा अड्कियो । पुराना दल र नेतृत्वका कमजोरी औंल्याइए । तर ती कमजोरी समाधान गर्ने ठोस नीति र कार्यक्रम प्रस्तुत गर्न सकिएन । यसरी वैकल्पिक राजनीति नकारात्मक राजनीतिमा सीमित रह्यो र सकारात्मक राजनीतिक निर्माण गर्न सकेन ।
असन्तुष्टिहरुको भिड बन्नुको अर्को प्रमुख कारण भावनात्मक राजनीतिमा अत्यधिक निर्भरता हो । रिस, आवेग, आक्रोश, निराशा र प्रतिशोधले मानिसलाई छिटो जोड्छ । तर लामो समयसम्म एक ठाउँमा राख्न सक्दैन । वैकल्पिक भनिएका धेरै अभियान र पार्टीहरू साझा विचारभन्दा साझा आक्रोशका आधारमा बने । आक्रोशको ताप घट्दै जाँदा संगठन पनि कमजोर हुँदै गयो । सत्ता नजिकिँदा वा निर्णयको घडी आउँदा ती समूहहरू आफैं विभाजित भए । कांग्रेस, एमाले, माओवादी, मधेसवादीलगायत दलहरूको पटक–पटकको टुटफूट र विभाजन यही यथार्थको ऐतिहासिक उदाहरण हो ।
पछिल्लो समय सामाजिक सञ्जाल र मिडियाको प्रभावले वैकल्पिक राजनीतिलाई अझै सतही बनाएको छ । लोकप्रियता, लाइक र सेयरलाई राजनीतिक सफलताको मापदण्ड बनाइयो, जुन सामाजिक धरातलीय यथार्थसँग मेल खाँदैन । यसले सेलिब्रेटी राजनीतिलाई जन्म दियो । सामाजिक सञ्जालमा चर्चित व्यक्ति रातारात वैकल्पिक नेताको रूपमा प्रस्तुत गरिए । तर राजनीति केवल लोकप्रियता होइन, जिम्मेवारी र उत्तरदायित्व पनि हो । जनतासँग आँखा जुधाएर कठिन प्रश्नको सामना गर्न नसक्ने नेतृत्वले विकल्प दिन सक्दैन । यसले क्षणिक नेपोबेबी र लुसीफरहरु जन्माउन सक्छ । तर दीर्घकालीन राजनीतिक निकास दिन सक्दैन । बरु इतिहासले देखाएअनुसार, यस्ता अभ्यास परम्परागत राजनीतिभन्दा पनि कमजोर सावित भएका छन् ।
पछिल्लो समय कांग्रेसभित्रको लामो असन्तुष्टिहरुको जमात रास्वपाभित्र केन्द्रित हुँदै गएको छ भने एमाले लगायतका कम्युनिस्ट घटकहरूको असन्तुष्टिको भर्ती केन्द्रको रूपमा प्रचण्ड नेतृत्वको माओवादी सावित हुन थालेको छ । अर्कोतर्फ बाबुराम भट्टराई, मोहन वैद्य ‘किरण’ र विप्लवजस्ता धारहरू पनि देखिन्छन् । यति हुँदाहुँदै देशको राजनीति अझै पनि प्रत्यक्ष–परोक्ष रूपमा कांग्रेस–कम्युनिस्ट वरिपरि नै घुमिरहेको छ । यी दुई विचारधाराबाट मुलुक उम्किन सकेको छैन । कुनै न कुनै रूपमा देश नराम्रो तरिकाले परिस्थितिको बन्धक बनेको छ ।
नेपालमा देखिएका धेरै वैकल्पिक भनिएका नेताहरू आलोचनाबाट भाग्ने, असहज प्रश्नलाई व्यक्तिगत आक्रमण ठान्ने र असहमतिका आवाज दबाउने प्रवृत्तिमा देखिए । जबकि विकल्प बन्ने राजनीतिले आलोचनालाई स्वागत गर्नुपर्छ र सुधारको माध्यम बनाउनुपर्छ । तर यहाँ आलोचनालाई दुश्मनी ठानियो । आलोचनासँग जुध्न नसक्ने नेतृत्व अन्ततः अवसरवादी भीडमै सीमित हुन्छ । पछिल्ला केही वर्षका राजनीतिक घटनाक्रमहरूले यही असन्तुष्टिको पुनरावृत्ति स्पष्ट देखाएका छन् ।
परम्परागत दलप्रतिको विश्वास घट्दै जाँदा वैकल्पिक अनुहारप्रतिको आकर्षण बढ्नु स्वाभाविक हो । काठमाडौं, धरानलगायत सहरमा देखिएको यो प्रवृत्ति जनताको गहिरो र दीर्घ असन्तुष्टिको संकेत हो । यसको मुख्य दोषी पुराना दल, नेता र नेतृत्व नै हुन् । तर यस्ता घटनाक्रमले संस्थागत वैकल्पिक राजनीतिका प्रश्न समाधान गर्न सकेनन् । संस्था कमजोर र व्यक्तिमा केन्द्रित सफलताले प्रणाली परिवर्तन गर्न सक्दैन ।
नयाँ दल, नयाँ अभियान र नयाँ नारासहित आएका शक्तिहरू केही समय चर्चामा आए, आएर गए । तर दीर्घकालीन राजनीतिक समाधान दिन सकेनन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र, वैचारिक स्पष्टता र संगठनात्मक अनुशासन कमजोर हुँदा ती शक्तिहरू आफैं संकटमा परे । असन्तुष्टिहरू फेरि पनि संगठित शक्ति बन्नुको सट्टा झुन्डमै सीमित भए ।
परम्परागत दलभित्रै पनि असन्तुष्टिहरू प्रशस्त छन् । आन्तरिक सुधारको माग गर्दै उठेका स्वर कहिले विद्रोहमा, कहिले विभाजनमा परिणत भए । तर ती विभाजनहरूले पनि वैकल्पिक राजनीति निर्माण गर्न सकेनन् । यसले के प्रमाणित गर्यो भने नाम बदल्नु मात्र विकल्प होइन रहेछ । सोच, चिन्तन र प्रवृत्ति बदल्नु अनिवार्य रहेछ ।
वैकल्पिक राजनीतिका नाममा देखिएको अर्को गम्भीर समस्या व्यक्तिकेन्द्रित राजनीति हो । विचारभन्दा व्यक्ति ठूलो बनाइयो । सूचना प्रविधिको युगमा व्यक्तिलाई नै देवत्वकरण गरियो । व्यक्तिको लोकप्रियता घट्दै जाँदा संगठन पनि कमजोर हुँदै गयो । जब राजनीति व्यक्तिमा सीमित हुन्छ, असहमति देशद्रोहझैं देखिन थाल्छ । यस्तो अवस्थामा स्वस्थ राजनीतिक बहस सम्भव हुँदैन र संगठन भीडमा रूपान्तरण हुन्छ ।
असन्तुष्टिहरू विकल्प बन्न नसक्नुको अर्को कारण सत्ता अभ्यासप्रतिको डर पनि हो । सत्ता बाहिर बसेर आलोचना गर्न सजिलो हुन्छ । तर सत्ता सञ्चालनको जिम्मेवारी लिन कठिन हुन्छ । वैकल्पिक भनिएका धेरै शक्ति सत्ता नजिकिँदा अन्योलग्रस्त देखिए । शासनको स्पष्ट विकल्प दिनुको सट्टा उनीहरू फेरि विरोधकै भाषामा सीमित भए ।
इतिहासले स्पष्ट देखाएको छ—देश सधैं संगठित, अनुशासित र वैचारिक राजनीतिक शक्तिले बनाएका छन् । असन्तुष्टिहरुको झुन्डले देश बनाएको उदाहरण छैन । असन्तुष्टिले परिवर्तनको ढोका खोल्न सक्छ । तर त्यो ढोकाबाट देशलाई अघि बढाउने काम केवल संगठित राजनीतिक शक्तिले मात्र गर्न सक्छ ।
वैकल्पिक राजनीति सम्भव छ । तर त्यसका लागि असन्तुष्टिलाई आधार बनाएर त्यसमै अड्किनु हुँदैन । असन्तुष्टिलाई विचारमा, विचारलाई नीतिमा र नीतिलाई संस्थागत अभ्यासमा रूपान्तरण गर्नुपर्छ । सामाजिक सञ्जालको लोकप्रियता, क्षणिक आवेग र आक्रोशको भाषणले दीर्घकालीन राजनीति निर्माण गर्न सक्दैन ।
आज नेपालको राजनीतिमा सबैभन्दा ठूलो आवश्यकता धैर्यता, स्पष्टता र इमानदार राजनीतिक अभ्यासको हो । विकल्पको सपना देखाउने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन सक्ने नेतृत्व चाहिएको छ । भीडको नेतृत्व होइन, राष्ट्र निर्माणको जिम्मेवारी लिन सक्ने नेतृत्व आजको आवश्यकता हो ।
त्यसैले नेपालको समस्या विकल्पको अभाव होइन, विकल्पको नाममा फैलिएको भ्रम हो । असन्तुष्टि गलत होइन । तर असन्तुष्टिमै अड्किनु घातक हो । जबसम्म असन्तुष्टि दृष्टिमा रूपान्तरण हुँदैन्, तबसम्म वैकल्पिक राजनीतिमा असन्तुष्टिहरुको भिड दोहोरिइरहनेछ । देश बनाउने राजनीति आक्रोशको होइन्, दायित्वको राजनीति हो । र, जबसम्म वैकल्पिक राजनीति यो सत्य स्वीकार गर्न तयार हुँदैन्, तबसम्म असन्तुष्टिहरुको भिड केवल आवाज र क्षणिक शक्तिका रूपमा रहनेछ—दीर्घकालीन सत्ता शक्तिका रूपमा होइन ।






