मनिषा कुमारी मण्डल
लहान / कठ्याङ्ग्रिदो जाडोबीच ओतविहीन बनेको एक मुसहर परिवारलाई लहान नगरपालिकाले एकैदिनमा घर बनाएर हस्तान्तरण गरेको छ ।

कडा चिसोले जनजीवन नै कठोर बनेको समयमा लहान नगरपालिका–१५ बानोका श्याम सदायको परिवार त्रिपालमुनि रात बिताउँदै आएको थियो । बैशाखमा आएको हावाहुरीले उनीहरूको फुसको घर उडाएपछि आफू श्याम श्रीमती विमला र तीन साना छोरीहरू महिनौँ देखि पराल–कपडाले छोपिएको त्रिपालमुनि बस्दै आएका थिए ।

दैनिक गिट्टी–बालुवा चालेर गुजारा चलाउने यो परिवारका लागि घर बनाउनुपर्ने सपना दूरदराजको विषय बनेको थियो । खान लाउने सम्मकाे अभाव झेलिरहेका उनीहरू जाडोमा त्रिपालमुनि रात कटाउन बाध्य थिए ।

तर अब अवस्था फेरिएको छ । शनिबार बिदाको दिन पनि लहान नगरपालिकाका नगर महेश चाैधरीले नगर प्रहरी परिचालन गर्दै लहान नगरपालिकाले काठ, बाँस र जस्ताको प्रयोगबाट एकै दिनमा अस्थायी घर तयार पारी श्याम परिवारलाई बस्न मिल्ने बनाइदिएको हो ।

मेयर महेश प्रसाद चौधरीका अनुसार तीन दिनअघि मात्र यो परिवारको कठिन अवस्था थाहा पाएका थिए ।

“सुन्दा नै दु:ख लाग्यो । तुरुन्तै नगरपालिकाले पहल गरेर आपतकालीन घर बनाइदियौँ,” मेयर चौधरीले बताए, “राज्यकाे सहायता त्यही कमजोर नागरिकका लागि हो ।”

नगरपालिकाले निर्माण गरेको यो घर अस्थायी स्वरूपको भए पनि छिट्टै पक्की घर निर्माणका लागि समेत पहल थालिने मेयर चौधरीको भनाइ छ ।

नयाँ घर प्रवेशसँगै श्याम सदायको परिवार निकै हर्षित बनेको छ। “हामीले त्रिपालमुनि बिताएको हरेक मिनेट कठिन थियो । अब भने धेरै राहत मिलेको छ,” श्यामले भावुक हुँदै भने, “पक्की घरको पनि आशा छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय